१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

प्रधानमन्त्री ओली र रक्षामन्त्री पोखरेलबीच नै बोलचाल बन्द, कसरी आउला समृद्धि ?


–मधुसुदन रायमाझी
२ चैत, काठमाडौँ । प्रधानमन्त्री समेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री एवं एमालेका महासचिव ईश्वर पोखरेलबीचको सम्बन्ध चिसिएको छ । प्रधानमन्त्री ओलीले अर्थमन्त्रीको दावेदारको रुपमा रहेका पोखेरललाई रक्षामन्त्री बनाएपछि विवाद उत्कर्षमा पुगेको हो ।

महासचिव पोखरलको सट्टा युवराज खतिवडालाई अर्थमन्त्री बनाएपछि प्रधानमन्त्री ओली र महासचिव पोखरेलबीच सम्बन्ध मन्त्री बने लगत्तै विग्रिएको छ । अर्थमन्त्री बन्ने आकांक्षा सहित पार्टी अध्यक्ष ओलीसँग लविङ गरेका महासचिव पोरखेलले अन्तिम समयसम्म अर्थमन्त्री हुने विश्वास लिनुभएको थियो ।

दोस्रो पटक मन्त्रीपरिषद् विस्तार हुने दिन वालुवाटारमा प्रधानमन्त्री ओली र पोखरेलबीच मन्त्रालयको बीचमा छलफल भएको थियो । पोखरेलले अर्थमन्त्री बाहेक अन्य मन्त्रालयमा नजाने अडान सहित बाहिरिने क्रममा ओलीले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने प्रतिबद्धतासहित सपथको तयारी गर्न आग्रह गर्नुभएको थियो, एमालेका एक नेताले भने ।

उनले नेपाल समाचारपत्रसँग भन्नुभयो,‘सपथको लागि तयारीको साथ महासचिव पोखरेल शितल निवास पुग्नुभयो, कुन मन्त्रालय टुंगो लागेको थिएन, शिलत निवासभित्र प्रवेश गरेपछि रक्षा मन्त्रालयबाट स्वागतको लागि तयारी अवस्थामा रहेको कर्मचारीको फोन आयो,त्यसपछि महासचिव पोखरेले ओलीसँग निकै रुष्ट बन्नु भो ।’

रक्षा मन्त्रालयबाट खबर आएपछि मात्र मन्त्रालयको पत्तो पाएका महासचिव पोखरेलले रक्षामन्त्रीको सपथ लिने कि नलिने दोधारमा पर्नुभएको थियो । तर शिलत निवासमा सबै तयारी भएकाले सपथ लिने निर्णय लिनुभएको एमालेका एक नेताले बताए । अर्थमन्त्रीको सपथ लिने विश्वासको साथ शिलत निवास पुग्नुभएका पोखरेले रक्षामन्त्रीमा चित्त बुझाउन बाँध्य हुनुभएको थियो । अर्थमन्त्रीमा पूर्व गर्भनर एवं राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसक्नुभएका युवराज खतिवडाले सपथ लिएपछि पोखरेले आश्चार्य व्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय सभाको सदस्य बनाउको लागि महासचिव पोखरेले नै प्रस्ताव गरेको बताइएको छ । एमालेका ती नेताले भने,‘महासचिवलाई भेटनको लागि पोखरलको सचिवालयका सदस्यहरुसँग समय लिएर मात्र खतिवडा जाने गर्नुहुन्थ्यो, अन्तिममा त अर्थमन्त्री पो बन्नु भो, पार्टीलाई नै आश्चार्यचकित बनाएर अर्थमन्त्री बन्नु भो ।’ खतिवडालाई अर्थमन्त्री बनाएपछि एमालेभित्र विवाद चुलिएको छ ।

सुरुमा एमालेभित्र खतिवडालाई अर्थराज्यमन्त्री बनाउने विषयमा छलफल पनि चलेको थियो । तर एमाले अध्यक्ष ओलीले उपप्रधान र राज्य नबनाउने भनेपछि अन्तिम अवस्थासम्म पनि पोखरेल अर्थमन्त्री हुनेमा ढुक्क हुनुभएको थियो । तर सपथ लिने बेलामा रक्षा मन्त्रालयको जिम्मेवारी दिएपछि अहिले अध्यक्ष ओलीसँग असन्तुष्ट रहनुभएको बताइएको छ ।

सुरुमा एमालेबाट महासचिव पोखरेल र सचिव प्रदिप ज्ञवालीको चर्चा रहे पनि अन्तिम अवस्थामा आएर खतिवडालाई ओलीले अर्थमन्त्री बनाउने निर्णय गर्नुभएको थियो । प्रधानमन्त्री ओली र रक्षामन्त्री पोखरेलबीच औपचारिक कार्यक्रम बाहेक अन्य कार्यक्रमा बोलचाल नै बन्द भएको स्रोतको दावी छ । स्रोतले भन्यो,‘मन्त्रालय छनोटको विषयलाई लिएर अध्यक्ष ओली र महासचिव पोखरेलबीच सम्बन्ध चिसिएनुको साथै पछिल्लो समयमा भेटघाट नै हुन छोडेको छ ।’

ओली–नेपालको मेल, पोखरेलमाथि जालझेल
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वामगठबन्धनमा उम्मदेवारको भागवण्डा, पार्टीबाट समानुपातिक उम्मेदवारको सिफारिस, पार्टी एकीकरणमा पार्टी एकता संयोजक समितिको सदस्यमा रहेका भूमिका निर्वाह गनुृभएका महासचिव पोखरेल अर्थमन्त्रीमा आकांक्षा देखाउनुभएको थियो । तर पार्टीभित्र गुट चलाउदै आउनुभएका वरिष्ठ नेता माधव कुमार नेपाल र पार्टी अध्यक्ष ओलीबीच भएको सहमति अनुसार महासचिव पोखरेललाई रक्षामन्त्री बनाइएको बताइएको छ ।

नेपाल र उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता खनाललाई राष्ट्रपति बनाउने पक्षमा उभिउनुभएको थियो । लगत्तै अध्यक्ष ओली र नेपालबीच पार्टी एकीकरण भएपछि बन्ने एकीकृत पार्टीको भावी अध्यक्षमा माधव नेपाललाई अगाडि सार्ने सहमतिपछि खनाल राष्ट्रपतिको रिङबाट आउट हुनुभएको थियो ।

ओली र नेपालबीच भएको सहमति अनुसार ओलीपछिको दोस्रो नेताको रुपमा नेपाललाई अगाडि सारिने भएको छ । पार्टीमा जिम्मेवारी ओलीपछि रहनुभएका महासचिव पोखरेललाई रक्षामन्त्री बनाएपछि नेपाल सक्रिय भएको बताइएको छ । भावी अध्यक्षको रुपमा ओलीले नेपाललाई अगाडि सार्ने सहमति अनुसार नेपालल नवौ महाधिवेशनदेखि सञ्चालन गर्दै आएको गुट ओली पक्षसँग मिलेको छ ।

राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारीलाई नै दोहो¥याएपछि वरिष्ठ नेता झलनाथ खनाल, उपमहासचिव घनश्याम भुसाल लगायतका नेताहरु अध्यक्ष ओलीसँग रुष्ट बन्दै आउनुभएको छ । स्रोतका अनुसार अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको सहमति अनुसार नै पोखरेललाई रक्षामन्त्री बनाउने निर्णय भएको थियो । नेपाल समाचारपत्र दैनिकबाट ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ०८:०४