२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

१६ फागुन, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाकाे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे विवरण अनुसार चालु आर्थिक वर्षकाे ६ महिनामा कम्पनीले १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।

याे अवधिमा कम्पनीले विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, आयोजना लगायतमा ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्चको प्राधिकरणले जनाएकाे छ ।

यो अवधिमा प्राधिकरणले १५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९/८०को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो ।गत आवको ६ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा ४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो ।

प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरुबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद गरिएको छ ।

प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको हो । समीक्षा अवधिमा नेपाल सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्व ०३ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ ।

नेपाल विद्युत प्राधिकरणको चालु आवको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ । सोही अवधिमा १ अर्व ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १३:३०