२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

तेस्रो दिनसम्म सर्वोत्तम सिमेन्टको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

१५ फागुन, काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओमा तेस्रो दिनसम्म मागभन्दा १० गुणा बढी आवेदन परको छ । सीडीएससी एण्ड क्लियरिङका अनुसार मंगलबारसम्म कम्पनीकाे आईपीओमा ५ लाख २४ हजार ७८ आवेदकबाट कुल १० अर्ब २२ करोड रुपैयाँ बराबरको २ करोड ८३ लाख २७ हजार ६१० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

कम्पनीले फागुन १३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि फागुन १६ गतेसम्म  आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 18:12