७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

विद्यालयको शैक्षिक विकासका लागि पूर्व विद्यार्थीको सहयोग

१५ फागुन, नुवाकोट । नुवाकोटको बेलकोट भञ्ज्याङ माध्यामिक विद्यालयका पूर्व विद्यार्थी विद्यालयको विकासका निम्ति जुटेका छन । विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसर पारेर पूर्व विद्यार्थीहरूले विद्यालयको शैक्षिक उन्नती र समग्र विकासका लागि गच्छे अनुसारको सहयोग गर्न सुरू गरेका छन ।

विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर विद्यालयका पूर्व विद्यार्थी रामकुमार पुडासैनीले एकमुष्ठ २ लाख १५ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको विद्यालयको आर्थिक समितिका संयोजक मधु खनलले दैनिकीलाई जानकारी दिए ।

खनालले दैनिकी सँग भने, ‘हाम्रो यस बेलकोट भञ्ज्याङ माविका पूर्व विद्यार्थी रामकुमार पुडासैनीले विद्यालयको समग्र विकासमा सहयोग पुग्ने गरी हजुरआमा मनकुमारी, बुबा मेखनाथ पुडासैनी र आमा खिलकुमारी पुडासैनीको तर्फबाट विद्यालयई एकमुष्ठ २ लाख १५ हजार १ सय ११ रूपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ । उहाँसँगै अन्य पूर्व विद्यार्थीले पनि सहयोग गर्नुभएको छ । अहिलेसम्म स्वर्णजन्यन्तीलाई केन्द्रीत गरेर १५ लाख भन्दा बढी सहयोगको प्रतिवद्धता आएको र करिब ८ लाख नगद संकलन भैसकेको छ ।’

जिल्लाको बेलकोटगढी नगरपालिकाको वडा नम्बर १ मा रहेको बेलकोट भञ्ज्याङ माध्यामिक विद्यालयले फागुन १९ गते स्वार्ण जयन्ती मनाउन लागेको छ । यसअघि सोमबार पत्रकार सम्मेलन गरी विद्यालयको प्रधानाध्यापक सुनिता ठकुरीले स्वर्णजयन्ती सफल बनाउन विभिन्न २५ उपसमिति गठन गरेर काम गरिरहेको र आजदेखि १९ गतेसम्म विद्यालयमा अतिरिक्ति क्रियाकलापहरू सञ्चालन गर्न लागिएको जानकारी दिइन ।

महेन्द्र सापकोटा, भेषनाथ पुडासैनी, रोमप्रसाद पुडासैनी, उत्तरबहादुर तामाङ, रामप्रसाद सापकोटा लगायतको पहलमा विक्रम संवत २०३० सालमा स्थापना भएको विद्यालय सुरूमा स्याउलाको छाप्रोबाट शिक्षा दिन सुरू गरेको थियो । विद्यालयको स्वर्ण जयन्ती समारोहमा अर्थमन्त्री डा प्रकाशशरण महत पनि सहभागी हुँदैछन ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार ११:२६