२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

१४ फागुन, काठमाडौँ । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ। त्यस्तै राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित कार्यसूची छ।

त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८०बारे सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत कार्यभार सम्हालेका जनसंख्या मन्त्री मोह बहादुर बस्नेतले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापा विधेयक, २०८० माथी विचार गरियोस् भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै आजकै बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची छ।

यता राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ। त्यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८० सभा समक्ष पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले बताएको छ।

यसैगरी आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १०:०४