शिशु चोरी प्रकरणः महिलाका पति र दिदी छुटे
१३ फागुन, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरिएको घटनामा पक्राउ परेकी महिला मनकुमारी सिंहका पति र दिदी हिरासतमुक्त भएका छन् ।
शिशु चोरिएको घटनामा उनीहरुको संलग्नता नदेखिएकाले दुई जनालाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
शुक्रबार काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको २६ दिनको शिशु हराएको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसी क्यामरा फुटेज संकलन गरेर अनुसन्धान थालेको थियो ।
त्यस क्रममा एक जना मास्क लगाएकी महिलाले शिशु लिएर हिँडेको पाइएको थियो । शुक्रबार राति १२ बजे प्रहरीले सिंहलाई काँडाघारीमा फेला पारेको थियो भने शिशुको पनि उद्दार गरेको थियो ।
प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १६:५२