२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

खातामा १८ हजार हुने सर्वसाधारणले आइतबारदेखि आईपीओ भर्न पाउने

११ फागुन, काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गते आइतबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।  कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। कम्पनीकाे आईपीओमा भर्नका लागि लगानीकर्ता खातामा कम्तिमा १८ हजार चाहिनेछ ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा लगानीकर्ताले छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 13:05