अधिकांश बीमा कम्पनी ‘जेड’ वर्गमा, ‘ए’ वर्गमा एउटा मात्रै
७ फागुन, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको छ । नेप्सेले आर्थिक वर्ष २०८०/८१ पुस मसान्त सम्म अद्यावधिक विवरणअनुसार २७१ कम्पनीको वर्गीकरण सार्वजनिक गरेको हो ।
नेप्सेले सुचिकृत कम्पनीहरुलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी चार वर्गमा वर्गीकरण गर्ने गरेको छ । नेप्सेले सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था, लाभांश वितरण, चुक्तापुँजीको अवस्था र साधारण सभा समयमा नै गरे/नगरेको अवस्था हेरेर ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी कुल चार वर्गमा सूचीकृत कम्पनीहरुलाई विभाजन गरेको छ ।
नेप्सेको वर्गीकरणमा अधिकांश बीमा कम्पनीहरु ‘जेड’ वर्गमा परेका छन्। ‘ए’ वर्गमा नेपाल इन्स्योरेन्स मात्रै पर्न सफल भएको छ । ‘बी’ वर्गमा कुनै पनि बीमा कम्पनी परेका छैनन् भने ‘जी’ वर्गमा ५ कम्पनी परेका छन् । आइएमई लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ र हिमालयन रि इन्स्योरेन्स ‘जी’ वर्गमा परेका हुन् ।
बाँकी बीमा कम्पनी ‘जेड’ वर्गमा परेका छन् । नेप्सेले धितोपत्र सूचीकरण नियमावलीको विनियम ११(६) बमोजिम कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो।
प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १४:२०