२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गरौँः प्रमुख आयुक्त थपलिया

७ फागुन, काठमाडौँ । ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूलनाराका साथ आठौँ निर्वाचन दिवस मनाइको छ । विसं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन आयोगले आज दिवस मनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मतदातालाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आम मतदातामा निर्वाचन र मतदानको महत्वलाई मनन गरी निर्वाचनका क्रियाकलापमा सरिक हुन दिवसले सदैव जागरूकता र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गर्न आग्रह गर्नुभएको छ ।

‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचन ः शान्ति, स्थिरता, समृद्धि र सुशासन’को मूलमन्त्रलाई आत्मसात् गर्दै आयोगले स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूतिसहित निर्वाचन व्यवस्थापन गर्दै आएको छ ।

वर्तमान संविधान जारी भएपछि सम्पन्न दुई आवधिक निर्वाचन र विभिन्न समयमा सम्पन्न उपनिर्वाचन एवं राष्ट्रियसभा सदस्यको निर्वाचनबाट देशभर करिब ८३ हजार चार सय जनप्रतिनिधि निर्वाचित भएका आयोगले जनाएको छ ।

यसैबीच, आयोगले निर्वाचन दिवसका अवसरमा वर्षेभरमा उत्कृष्ट कार्य सम्पादन गर्ने १२ जना कर्मचारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा आयोगका पाँच र मातहतका प्रदेश र जिल्लाका सात  जना  कर्मचारी हुनुहुन्छ ।

आज आयोजित कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा जानकी तुलाधर र सगुन शम्सेर राणाले आयोगद्वारा प्रकाशित वार्षिक स्मारिक लोकार्पण गर्नुभयो । उक्त स्मारिकामा निर्वाचनसँग जोडिएका १२ वटा लेख समावेश छ । सो अवसरमा आयुक्त डा तुलाधरले पछिल्लो समय निर्वाचनका माध्यमबाट मुलुक समावेशीकरणतर्फ उन्मुख भइरहेको बताउनुभयो ।

आयोगका निमित्त सचिव यज्ञप्रसाद भट्टराईले आयोग पदाधिकारी, राजनीतिक र निर्वाचनमा संलग्न राष्ट्रसेवक कर्मचारीका निष्ठा र दृढताका कारण निर्वाचन स्वच्छ, स्वतन्त्र र मितव्ययी निर्वाचन बन्दै गएको बताउनुभयो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार ११:३३