बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि जोखिम सृजना भएको छैनः परिसंघ
६ फागुन, काठमाडाैँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थामा कुनै पनि जोखिम सिर्जना नभएको बताएको छ। परिसंघले आइतबार एक विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाको वित्तीय सूचकहरु सबल रहेको भन्दै बैंकिङ्ग प्रणलीमा कुनै जोखिम सिर्जना नभएको बताएको हो।
२०८० पुस मसान्तसम्म कुल ग्राहस्थ उत्पादनको ११३.९३ प्रतिशत निक्षेप, कुल ग्राहस्थ उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा संजाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सवल रहेको, सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहक वर्गको हकहितका विषयमा कुनै पनि जोखिम सृजना नभएको परिसंघले जनाएको छ।
सवल नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरुका अक्षरशः पालना गर्दै संचालित बैंक तथा वित्तीय संस्थाहरुको अत्यन्त सवलीकरण र पारदर्शीरुपमा संचालन हुने सुनिश्चितता गर्न कानुनी व्यवस्था लागू गरिएको सिबिफिनले जनाएको छ।
यस्ताे छ बैंक तथा वित्तीय संस्थालाई सवलीकरण र पारदर्शीरुपमा संचालन हुने सुनिश्चितताको लागि गरिएको कानुनी व्यवस्थाः
१) बैंक तथा वित्तीय संस्था संचालन सम्बन्धी ऐन २०७३, तथा सो ऐन बमोजिम जारी भएको नियम तथा सो बमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन बमोजिम संचालन हुने ।
२) अन्तराष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैंकबाट नियमितरुपमा सुपरिवेक्षण तथा अनुगमन भइ विभिन्न निर्देशन जारी हुने र सो को परिपालनाको नियमित अनुगमन हुने र निर्देशन पालना नभए कानून बमोजिम आवश्यक कारवाही हुने ।
३) बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक परिसूचकहरु जस्तै क्यापिटल एडुकेसि रेशियो, लिक्वीडिटि रेशियो, सिडि रेशियो, क्यास सरजर्भ रेशियो लगायतका विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय परिसूचकहरुको सम्बन्धमा नियममितरुपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुमगन हुने र सो सम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानुन बमोजिम कारबाही हुने ।
४) नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु. ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सुरक्षण कोष” मार्फत सुरक्षण गरिएको हुने ।
केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहिन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुको वास्तविक तथ्यहरुका वारेमा बुझ्नु परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुका आधिकारिक प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत परिसंघले आग्रह गरेको छ।

प्रकाशित मिति : 18:04









