२० मंसिर २०८१, बिहीबार | Thu Dec 5 2024

किन घुसैमात्र खान्छन सरकारी वकिल ? मालपोतपछि दुर्गन्धित बन्दै सरकारी वकिलको कार्यालय

–पवित्रा मुडभरी 

४ मंसिर, काठमाडाैँ । पछिल्लो पटक सरकारी वकिलहरूले मुद्दा मिलाइदिन्छु भन्दै घुस खानेक्रम बढेको छ । दुर्इ तिहाइको बलियो सरकार भएको माैकामा सरकारी वकिलहरूले गलत तवरले घुस खाएर अाफ्नो भविष्य बनाउन लागि परेका छन । सरकारवादी मुद्दाहरू लड्ने र जिताउने जिम्मेवारी पाएका सरकारी वकिलहरूनै धमाधम एकपछि अर्को गर्दै घुसहसित रंगेहात पक्राउ पर्न थालेपछि यसले व्यवस्थामै असर पार्ने डर समेत देखिएको छ ।

सरकारले भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्ने अनि कर्मचारीलार्इ कार्यालय प्रवेश गर्ने बेलादेखि नै घुस खाँदिन भनेर कसम खुवाउन लगाउने अनि बढी नै राजनीतिक प्रभावमा रहेर सरकारी मुद्दाहरू लड्नुपर्नेहरू नैतिक रूपमा स्खलित भएर घुस खान थालेपछि के अाशा गर्न सकिएला गम्भीर प्रश्न उब्जिएको छ ।

पछिल्लो पटक मंगलबार रूपन्देहीका जिल्ला न्यायाधिवक्ता काेषहरि निराैला ८० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगकाे टाेलीले सरकारी वकिल निराैलालार्इ ८० हजार रूपैयाँ घुससहित पक्राउ गरेकाे हाे। रूपन्देहीका जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधीवक्ता निराैलालार्इ सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रकम लिंदैगर्दा अायाेगकाे टाेलीले रंगेहात पक्राउ गरेकाे हाे। उनले ठगी मुद्दा मिलाइदिने भन्दै ८० हजार रूपैयाँ घुस लिएका थिए।

निराैला एउटा प्रतिनिधिपात्र मात्र हुन । धेरैजसो सरकारी वकिलको कार्यालयमा मुद्दा कमजोर बनाउनका निम्ति प्रतिवादीसँगै पैसा खाने (घुस) काम हुँदै अाएको छ । गत असोज २४ गते कास्की जिल्लाका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पनि घुस सहित रंगेहात प्रक्राउ परेका थिए । कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा उनी पक्राउ परेका थिए । उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको थियो । उनले त्यसदिन घुस खानका लागि कार्यालय समयभन्दा अघि नै गएर काम गरेको जस्तो गरेर घुस खाएका थिए ।

मंगलबार घुसखाँदैगर्दा पक्राउ परेका सरकारी वकिल कोशहरि निराैँला ।

त्यस्तै कही वर्ष अघि जिल्ला सरकारी वकिल कार्यालय,काठमाण्डौका उप-न्यायाधिवक्ता (उप-सचिव) प्रकाश घिमिरे पनि घुस खाँदाखाँदै पक्राउ परेका थिए । घिमिरेले फरार रहेको अवस्थामा ज्यान मुद्दाका प्रतिवादीमार्फत मृतकको साथबाट प्राप्त गरेको आईफोन किनमेलमा संलग्न रुपेश श्रेष्ठको मुद्दा फितलो बनाएर घुस खाएका थिए । घिमिरेलार्इ काठमाडाैँको ताज बैंकेटबाट २० हजार घुससहित अख्तियार पक्राउ गरेको थियो ।

राजनीतिक प्रभाव र दबाबमा काम गर्ने बानी लागेका सरकारी वकिलहरूको घुस खाने बानी नियन्त्रणमा सरकारको नाराले कुनै काम गरेको देखिदैन । नत महान्याधिवक्ताको कार्यालयले ठोस काम गर्न सकेको छ । निराैला, थापा र घिमिरे उदाहारणमात्र हुन । यहाँ हरेक दिन सरकारी वकिलका कार्यालयमा घुसको कारोबार भैरहेका हुन्छन । जसका कारण कतिपय सरकारवादी मुद्दाहरूको फैसला नै अाश्चर्यजनक अाउने गरेको छ । प्रतिवादीसँग घुस खाएर मुद्दा कमजोर बनाउन उनीहरूले बढी जोड गरेको अख्तियारको हालसम्मको अनुसन्धानले देखाएको छ ।

अख्तियारमा सरकारी वकिलको कार्यालयमा दिनहुँ घुसको कारोबार भएको सूचना अाउँछ त्यसलार्इ रेड हान्ने कोशिश अायोगका अधिकारीले पनि गर्छन तर कतिपय प्राविधिक विषय नमिल्दा उनीहरू पक्राउ पर्न सकिरहेका हुँदैनन । अख्तियार स्रोतका अनुसार सरकारी वकिलहरूले मुद्दा कमजोर बनाउँदै घुस खाएका उजुरीहरू धेरैनै परेका छन । तर पर्याप्त प्रमाण नहुँदा तिनीहरूलार्इ कारबाही गर्न अायोगलार्इ समस्या परेको छ ।

प्रधानमन्त्री अोलीको नारालार्इ नै असफल पार्ने गरी अहिले सरकारी संयन्त्रमा घुसखोरी बढेको छ । राजनीतिक दलको अाडमा कर्मचारी प्रशासनमा अाफ्नो प्रभुत्व जमाएर भ्रष्टाचारलार्इ चन्दन बनाएर निधारमा लगाउने गरेका कर्मचारी नेताहरू अहिले सबैभन्दा बढी भ्रष्टाचारमा लागेका छन । उनीहरूकै कारण कर्मचारी समायोजन सम्बन्धी कानुन र त्यहाँभित्रको विकृति न्यूनिकरणमा समेत बाधा उत्पन्न भएको छ । त्यसकारण अख्तियार दुरूपयोग अनुसन्धान अायोगले भ्रष्टाचार न्यूनिकरणका लागि महाअभियाननै सञ्चालन गर्नुपर्छ भने सरकारले त्यसमा होस्टेमा हैँसे गरेजसरी साथ दिनुपर्छ ।

अर्को कुरा कार्यालय समयमा काम नगर्ने र कार्यालय समय भन्दा अघि वा पछि विशेष काम गर्छु भन्दै बस्ने कर्मचारीमाथि सबैभन्दा बढी निगरानी अावश्यक देखिएको छ । धेरैजसोले घुस खानका लागि बहाना बनाउने गरेका छन । भ्रष्ट र घुसखोरलार्इ कारबाहीको दयरामा ल्याउन अख्तियार र प्रहरी प्रमुखहरूले नेताको जस्तो भाषण गरेर हिड्न बन्द गर्नुपर्छ ।त्यसपछि बल्ल सुशासनको जग बस्न सक्ने अनुमान गर्न सकिन्छ अन्यथा सरकारको समृद्धिको नारा प्रधानमन्त्री र मन्त्रीका नजिकका लागि भन्दा बाहेक बाहिर निस्कन गाह्रो हुन्छ ।

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार १९:२८