२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

१५ जिल्ला र १४ हिमाल देखिने चिम्टेश्वरको प्रवर्द्धनका लागि वृहत वनभोज हुँदै

२  फागुन, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेको चिम्टेश्वर क्षेत्रको प्रवर्द्धनका लागि नेकपा एमालेले बृहत वनभोज गर्ने भएको छ । यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर एमालेले बृहत वनभोज कार्यक्रम गर्न लागेको हो । एमालेको बेलकोटगढी नगरकमिटीको नाममा हुने बृहत वनभोज सबैका लागि भएको सोही नगरपालिकाका स्थायी बासिन्दा समेत रहेका एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवराज पाण्डेले जानकारी दिए । उनले चिम्टेश्वरको प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको भन्दै फागुन ७ गते सबैलाई चिम्टेश्वरमा उपस्थित हुन अपिल गरे ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा बेल्कोट र नुवाकोट आक्रमण गर्नका लागि बेलकोट, जिलिङ, कुमारी र दुईपिपल गाउँ विकास समितिको सँगमस्थल चिम्टेश्वर महादेवस्थानसँगै गढी निर्माण गरेका थिए । त्यस गढीलाई एकीकरण अभियानमा निर्मित पहिलो गढीका रूपमा इतिहासमा उल्लेख गरिएको पाइन्छ । अग्लो डाँडामा सैनिकहरू लुक्न बनाईएको सुरुङका अवशेषहरूले अझैपनि एकीकरण अभियानको स्मरण गराउँछ । पृथ्वीनारायण शाहले गढी निर्माण पछि चिम्टेश्वर महादेवको आराधना गरेपछि नुवाकोट विजय गरेको जनश्रुति समेत पाईन्छ ।

चिम्टेश्वरबाट तत्कालीन वागमती अञ्चलका सबै जिल्ला जनकपुर अञ्चलका दोलखा र रामेछाप, नारायणी अञ्चलका मकवानपुर र चितवन तथा गण्डकी अञ्चलका गोरखा तथा लमजुङ र तनहुँका हिमालहरुको एकै स्थानबाट दृश्यावलोकन गर्न सकिन्छ ।

नुवाकोट आक्रमणको पहिलो किल्लाका रुपमा चिनिएको चिम्टेश्वर मन्दिरमा सतीदेवीको कुनै अङ्ग पतन भई शिवलिङ्ग उत्पत्ति भएकाले सो स्थलको नाम चिम्टेश्वर रहन गएको श्रीस्वस्थानी कथामा उल्लेख रहेको छ । अर्को किवंदन्तीअनुसार महादेवले समुद्र मन्थनपछि पिएको कालकूट विषको डाह शान्त गर्न उत्तरापन्थ लाग्दा थकाइ लागेपछि विश्रामका लागि सो स्थलमा बसेर हिँड्दा चिम्टा हराएकाले पनि सो स्थानको नाम चिम्टेश्वर रहेको मानिन्छ । चिम्टेश्वरमा बालाचर्तुदशी, हरितालिका, शिवरात्रि र वैकुण्ठ चतुर्दशीमा विशेष पूजा र मेला लाग्छ ।

विसं २०७० वैशाख १ र २ गते नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको आयोजनामाा नुवाकोटको रानीपौवाबाट चिम्टेश्वर हुँदै देवीघाटसम्मको पदयात्रा गरिएपछि यस क्षेत्रको पर्यटकीय महत्व प्रकाशमा आउन थालेको हो । उक्त पदयात्रामा तीन सय भन्दा बढी नेता, व्यवसायी, पत्रकार र कलाकारको टोलीले एक रात चिम्टेश्वरमा बिताएको थियो । उक्त टोलीमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजाल लगायत सहभागी रहेका थिए । उक्त पदयात्राको नेतृत्व संगठनको अध्यक्षका हैसियतमा पर्यटन बोर्डका पूर्व उपाध्यक्ष चन्द्र रिजालले गरेका थिए ।

नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पृथ्वीनारायण शाहको एकीकरण अभियान र शाहसँग जोडिएका नुवाकोट दरबार, देवीघाट र चिम्टेश्वरको सम्वर्द्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ‘नेपाल एकीकरण अभियान आरम्भ क्षेत्र विकास समिति’ गठनको निर्णय समेत गरेका थिए । यद्यपी अर्थ मन्त्रालयले समयमै सहमति नदिँदा ढकालले उक्त सपना पूरा गर्न पाएनन् । ढकालले ऐतिहासिक नुवाकोट दरबार, राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायणको समाधिस्थल देवीघाट र पर्यटकीयस्थल चिम्टेश्वरलाई धार्मिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण तथा संवद्र्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ‘विकास समिति ऐन, २०१३’ को दफा ३ बमोजिम उक्त विकास समिति गठनको घोषणा गरेरै काम गरेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार २०:२१