नेप्सेमा ६४ अर्ब ९५ करोड रुपैयाँ बराबरको साधारण सेयर सूचीकृत
२ फागुन, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ६४ अर्ब ९५ करोड रुपैयाँ बराबरको साधारण सेयर सूचीकृत भएकाे छ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा नेप्सेमा ६४ अर्ब ९५ करोड रुपैयाँ बराबरको साधारण सेयर , रु.९ अर्ब ५३ करोड बराबरको बोनस सेयर, रु.६ अर्ब १० करोड बराबरको हकप्रद शेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल ८० अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
त्यस्तै पुस मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २४९ रहेको थियो ।
प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १७:०९












