२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

एमाले महासचिव शंकर पोखरेल चढेको गाडी पल्टियो

२८ माघ, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको गाडी पल्टिएको छ । दैलेखको पार्टी कार्यक्रममा सहभागी हुन जानेक्रममा महासचिव पोखरेल चढेको गाडी पल्टिएको हो दुर्घटना हिजै भएको भए पनि दुर्घटनाको तस्बिर भने आज आइतबार उपमहाचिव विष्णु रिमालले सार्वजनिक गरेका छन । रिमालले आइतबार एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना भन्दै दुर्घटनाको तस्बिर सार्वजनिक गरेका छन ।

दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार नजिकै जंगलमा म १ च ३६९ नम्बरको स्कोरपियो पल्टिएको हो । गाडीमा सवार महासचिव सकुशल रहेको उपमहासचिव रिमालले जानकारी दिए । दुर्घटनामा एमाले कर्णाली प्रदेशकी उपचसिव पद्मा खड्काको हातमा भने चोट लागेको छ । उनको हातमा प्लास्टर गरिएको छ । थप क्षति केही नभएको एमालेले जनाएको छ ।

घाइते खड्का एमालेको कर्णाली अधिवेशनमा मतमा पराजित भए पनि केन्द्रीय सचिवालयको निर्णय र महासचिव पोखरेलको पत्र अनुसार उपसचिव भएकी हुन । यद्यपी कर्णालीको उपसचिव विवादमा पार्टी र केन्द्रीय निर्वाचन आयोगको बीचमा समान बुझाइ हुन सकेको छैन ।

महासचिव पोखरेलले भने आइतबार राष्ट्रिय ट्रमा सेन्टरमा शरिरको चेकजाँच गराएका छन । हात र खुट्टामा सामान्य चोटबाहेक अन्य केही नभएको नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिएका छन । पोखरेलको स्वास्थ्य परीक्षण वीर अस्पतालका कार्यकारी निर्देशक समेत रहेका अर्थोपेडिक स्पाइन सर्जन तथा सिनियर कन्सलटेन्ट डा सन्तोष पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २८ माघ २०८०, आईतवार १२:२०