राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘मेरो घर कर्जा’ योजना
२६ माघ, काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एकल ब्याजदरमा ‘मेरो घर कर्जा’ योजना ल्याएको छ । बैंकले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम मेरो घर कर्जा योजना ल्याएको हो ।
घर खरीद, घर निर्माण तथा जग्गा खरीद गर्नका लागि अधिकतम पाँच कारोड रुपैंयासम्म दिइने मेरो घर कर्जाको ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिने बैंकले जनाएकाे छ ।
हाल बैंकको बेसरेट ८.२५ प्रतिशत छ । यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा बैंकले मेरो घर कर्जा लगानी गर्नेछ । कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्नेछ । कर्जा रकम मासिक किस्ताबन्दीमा (EMI) भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिने बैंकले जनाएकाे छ । यो कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिनेछ ।
हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २८६ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ७० वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।
प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १७:२३