२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

स्वास्थ्य अनुसन्धान परिषद्को ऐन, २०४७ को संशोधन प्रस्तावमाथि छलफल

२६ माघ, काठमाडौँ ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को संशोधन प्रस्तावमाथि छलफल भएको छ । परिषद्को आयोजनामा बिहीबार आयोजित कार्यक्रममा विगत लामो समयदेखि संशोधन हुन नसकेको उक्त ऐनमाथि आज स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्यविद्, पत्रकार र सरोकारबालाबीच छलफल भएको हो ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्रमरण सिंहले लामो समयमदेखि संशोधन हुन नसकेको ऐनलाई समय सान्र्दभिक संशोधन गरेर लैजान आवश्यक रहेको बताए। उनले दुरगामी लक्ष्य राखेर ऐनलाई संशोधन गर्नुपर्ने धारणा राखे । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले समय अनुसार परिमार्जन गर्दै जानुपर्ने ऐन अहिले आएर संशोधन हुन लागेकोमा खुशी व्यक्त गरे । उनले ऐनलाई आगामी २० बर्ष संशोधन गर्न नपर्ने गरि संशोधन गर्नुपर्ने बताए ।

परिषद्का पूर्व अध्यक्ष डा. महेश मास्केले जनताको स्वास्थ्यलाई प्रवद्र्धन गर्ने गरि ऐनलाई परिमार्जन गर्नुपर्ने धारणा राखे । स्वास्थ्य मन्त्री मोहनवहादुर बस्नेतका सल्लाहाकार विश्वरुप खड्काले स्वास्थ्यका हरेक क्षेत्रलाई समेट्ने गरि ऐनलाई परिमार्जन गर्नुपर्ने बताए ।
नेपाल मेडिकल एसोसिसनका महासचिव डा. संजीव ज्ञवालीले जनताको स्वास्थ्यमा के गर्दा फाइदा हुन्छ त्यसै अनुसार परिषद्को ऐन संशोधन गर्नूपर्ने बताए ।

नेपाल नसिंङ संघकी पूर्व अध्यक्ष तारा पोखरेलले परिषद्ले नसिङलाई पनि समेटेर लैजानुपर्नेमा जोड दिइन्  । परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले आफ्नो चारबर्षे कार्यकालमा परिषद्को ऐन संशोधन कामको प्रक्रियामा लगेको बताए । उनले ऐन संशोधनको प्रस्ताव सवैलाई समेट्ने गरि बनाइएको भन्दै परिषद्लाई पढ्ने, लेख्ने, अनुसन्धान गर्नेको थलो बनाउनुपर्नेमा जोड दिए ।

भोलिदेखि चार बर्षे कार्यकाल सकिने लागेका परिषद् सदस्य सचिव डा. ज्ञवालीले आफ्नो कार्यकालमा परिषद्ले अध्ययन अनुसन्धानमा महत्वपूर्ण काम गरेको बताए । उनले कोभिड १९ का ३५ र अन्य रोगका ६० अध्ययन अनुसन्धान भएको जानकारी दिए । “म परिषद्मा आउने वित्तिकै कोभिड १९ महामारी शुरु भयो । तर पनि हामी महामारी वेलामा अध्ययन अनुसन्धानको कामलाई निरन्तरता दियौ”उनले भने, “कोभिड १९ हामीले अध्ययन अनुसन्धान गरेर परिषद्लाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मौका पायौ ।” कार्यक्रममा परिषद्का कर्मचारीसमेत सहभागि रहेको थियो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार ०९:४८