२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

अब घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरिने

२५ माघ, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर बिक्री प्रवर्द्धन गर्ने बताएका छन् ।आज उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवद्र्धन विषयक छलफलमा मन्त्री रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने बताएका हुन् ।

ठूला उद्योगी हाबी नहुने गरी साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने मन्त्री रिजालको भनाइ थियो । उनले घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने समेत बताए ।

मन्त्री रिजालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री प्रवर्द्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए । मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ‘ब्रान्डिङ’ गर्ने नीति लिएको छ । सोही अनुरुप आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा बिक्री प्रवर्द्धनसम्बन्धी मार्गदर्शन समेत प्रस्तुत गरिएको थियो ।

छलफलमा अर्थमन्त्री डा प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङकोसमेत उपस्थिति थियो । अर्थमन्त्री डा महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताए ।

कानुनमन्त्री धनराज गुरुङले घरेलु मदिराको उत्पादन तथा बिक्री प्रवर्द्धनका लागि स्पष्ट कानुनप्रति संवेदनशील हुनुपर्ने बताए । छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको उपस्थिति थियो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार २०:५२