राष्ट्र बैंकले आज पनि बजारबाट २० अर्ब झिक्दै, ३ दिनमै ७० अर्ब तरलता खिच्दै
१८ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट २० अर्ब रुपैयाँ झिक्न लागेको छ । बजारमा पैसा थुप्रन थालेपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको हो ।
याेसँगै राष्ट्र बैंकले लगातार तीनदिन बजारबाट ७० अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र बैंकले बजारबाट गत माघ १६ गते २० अर्ब र १७ गते ३० अर्ब रुपैयाँ झिकेको थियो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी फागुन ३ गते हुनेछ । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १०:४२












