२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

मानुङकोटले देशकै पर्यटनमा योगदान पुर्याउँछः मन्त्री आचार्य

१६ माघ, दमौली (तनहुँ) । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले मानुङकोटले देशकै पर्यटन क्षेत्रमा योगदान पुर्याउने बताएका छन् । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको सातौँ व्यास नगर अल्ट्रा म्याराथनको व्यास नगरपालिका–५ मानुङकोटमा उद्घाटन गर्दै मन्त्री आचार्यले मानुङ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको र यसले देशको पर्यटन क्षेत्रमा योगदान दिने उल्लेख गरे ।

उनले भने, “पछिल्लो समय मानुङकोट देश तथा विदेशमा प्रख्यात भइरहेको छ । यसले तनहुँको मात्रै समृद्धिमा टेवा दिँदैन देशकै समृद्धिमा योगदान दिन्छ ।” मानुङकोेटमा पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले सङ्घ सरकारको समेत यसमा समर्थन रहने बताए ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि म्याराथन आयोजना गरिएको बताए । प्रत्येक वर्ष धावकलाई दौडाउने मात्रै नभई यहाँको पर्यटन र संस्कृतिका बारेमा प्रचारप्रसार गर्नु उद्देश्य रहेको उनको भनाइ छ ।

उनले भने, “खाली खेलाडीलाई दौडाउन मात्र होइन, यस ठाउँको प्रचारप्रसार गर्दै विकास अभियानमा सङ्घ र प्रदेश सरकारलाई जोड्न चाहेका छाैँ । मानुङकोटसम्म पुग्न कालोपत्र सडक भए पनि पुलिमराङमा अझै पनि कच्ची सडक छ । त्यहाँको बाटो पनि कालोपत्र गर्ने लक्ष्य राखेका छाैँ ।”

व्यास नगरपालिकाअन्तर्गतका मगर र गुरुङ गाउँ जोड्ने अल्ट्रा म्याराथन आयोजना गरिएको हो । शहीद दिवसका अवसर पारेर व्यास नगरपालिकाले आज ४४ किमी दूरीको सातौँ व्यास नगर अल्ट्रा म्याराथन आयोजना गरेको हो ।

म्याराथनमा एक सय १६ धावकको सहभागिता रहेको छ । म्याराथनमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र र प्रहरीका धावकको समेत सहभागिता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा तनहुँका अतिरिक्त कास्की, लमजुङ, गोरखा, धादिङ, चितवन, डोल्पा, रुकुम, काठमाडौँलगायत जिल्लाबाट धावकको सहभागिता रहेको छ । व्यास नगरपालिका–५ मानुङबाट सुरु म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैँचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिनेछ ।

त्यसका लागि व्यास–४ रेन्ज पोष्ट, व्यास–१० खहरे, व्यास–७ पाथ्रा, व्यास–७ सत्रसय, व्यास–८ रिस्ती सोतीवेशी, व्यास–८ वडा कार्यालय, व्यास–८ गाडापानी र पुलिमराङमा चेकपोष्ट राखिएको छ । अल्ट्रा म्याराथनमा प्रथम हुनेलाई रु ८५ हजार ८०, द्वितीय हुनेलाई रु ६५ हजार ८०, तृतीय हुनेलाई रु ५५ हजार ८० र सान्त्वना हुने पाँच जनालाई जनही रु १६ हजार ८० नगद पुरस्कार प्रदान गरिनेछ ।

गत वर्ष जिल्लाभित्रका धावकलाई मात्रै सहभागी गराइएको थियो । गत वर्ष आयोजित म्याराथनको उपाधि व्यास–७ निवासी विशाल गुरुङले जितेका थिए । गत वर्ष ४४ किमी दूरी तीन घण्टा २९ मिनेट २६ सेकेन्डमा पूरा गर्दै गुरुङले उपाधि जितेका हुन्। त्यस्तै गत वर्षको प्रतियोगितामा व्यास नगरपालिका–६ का सहास पन्थ द्वितीय, आँबुखैरेनी गाउँपालिका–१ का सनम गुरुङ तृतीय हुभएका थिए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार १३:०२