२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

बाँदर नियन्त्रणका लागि गठबन्धन सरकारले वन फँडानी गर्ने, पोखराबाट कार्यान्वयन सुरू

१६ माघ, काठमाडौँ । गठबन्धन सरकारले बाँदर नियन्त्रणका लागि वन फँडानी गर्ने कार्यक्रम अघि सारेको छ । गण्डकी प्रदेशको सरकारले बाँदर नियन्त्रणको नीति नै पारित गरेको भन्दै पोखरा महानगरपालिका वडा नम्बर १९ ले ‘मेरो रूख म काट्छु’ भन्ने अभियानै घोषणा गरेको छ । वडा कार्यालय स्रोतका अनुसार पहिलो चरणमा व्यक्तिलाई रूख काट्न प्रोत्साहित गर्ने र उनीहरूले रूख नकाटे दोस्रो चरणमा वडा कार्यालयले नै रूख काटेर सम्बन्धितसँग खर्च असुल्ने तयारी छ ।

वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले माघ १५ गते एक सार्वजनिक सूचना नै जारी गरेर बाँदर नियन्त्रणका लागि ‘मेरो रूख म काट्छु’  अभियान भव्यरूपमा सफल पारेर प्रदेश सरकारको अभियान सफल बनाउन अपिल गरेका छन । पोखराको लामाचौर र पुरन्चौर क्षेत्रमा घरवरपरका सम्पूर्ण रूख काट्न वडा अध्यक्षले सार्वजनिक सूचनामा अपिल गरेका छन ।

पाण्डे गत निर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा नेपाली कांग्रेसको चुनाव चिन्हमा वडा अध्यक्षमा विजयी भएका थिए । गठबन्धनका साझा भनिए पनि वडा सदस्यमा प्रतिस्पर्धा गरेका कांग्रेसकै दुइ, माओवादी केन्द्रका एक र समाजवादीका एक वडा सदस्य भने पराजित भएका थिए । वडा सदस्यमा एमालेका उम्मेदवारहरू दुर्गादेवी बस्नेत, कल्पना सुनार, नवराज केसी र विकासकुमार आचार्य विजयी भएका थिए ।

यता बाँदर नियन्त्रणका लागि बन्ध्याकरण जान्न संघीय संसदको एक टोली भारत जाने तयारीमा छ । कृषि समितिको सभापति नेपाली कांग्रेसकी नेतृ डा आराजु राणा देउवाको नेतृत्वमा संसदहरूको जम्बो टोली भारत जाने तयारीमा छ । उनीहरूले त्यहाँ बाँदर नियन्त्रणका लागि चलाइएको बन्ध्याकरण अभियानबारे जानकारी लिनेछन ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार ०८:०७