२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

१२ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदाप्रदानका विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको सम्झौतामा त्रिविका निमित्त उपकुलपति डा शिवलाल भुसाल र युइएसटिसीका कुलपति जेङ्गयोङ्गले हस्ताक्षर गरे । मसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्रा चिरञ्जीवी खनालको विशेष पहलमा दुई विश्वविद्यालयको बीचमा सम्झाैतामा हस्ताक्षर भएको हो । सम्झौता कार्यान्वयनका लागि मुख्य सम्पर्क व्यक्तिमा त्रिविबाट आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्रा खनाल र युइएसटिसीका प्राध्यापक हाङ्होङ रहेका छन् ।

 

सम्झौतापछि त्रिविका निमित्त उपकुलपति भुसालले यसले विभिन्न सम्भावनाको ढोका खोलेको भन्दै आगामी दिनमा दुई विश्वविद्यालयका बीचमा घनिभूत सहकार्य हुने विश्वास व्यक्त गरे । युइएसटिसीका प्रतिनिधि प्राध्यापक हाङहोङले आफ्नोतर्फबाट अध्ययन र अनुसन्धानका क्षेत्रमा सक्दो सहयोग गर्ने बताउँदै ज्ञान र सीपको पनि आदानप्रदान हुनुपर्ने बताए ।

सम्झौताका लागि पहलकदमी लिएका प्रा खनालको दुवै विश्वविद्यालयका बीचमा दीर्घकालीनरूपमा सहकार्य गर्न समझदारी भएको बताउँदै पारस्परिक समानता र लाभको पारस्परिकताका सिद्धान्तमा आधारित आपसीहित र शैक्षिक सहयोगलाई सक्षम पार्न सम्झौता उपयोगी हुने जनाए ।

सम्झौतासँगै विद्वान, अनुसन्धानकर्ता र शिक्षण कर्मचारीको आदानप्रदान हुनेछ भने विद्यार्थीहरूकोसमेत आदानप्रदान हुनेछ । संयुक्तरूपमा कार्यशाला र सङ्गोष्ठीको आयोजना हुनेछ । यो सम्झौतामा पाँच वर्षका लागि हुनेछ । सो अवसरमा त्रिविको अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रका कार्यकारी निर्देशक विनोद जोशी, पत्रकारिता विकास समाजका अध्यक्ष माधवप्रसाद तिवारी, इमानका अध्यक्ष रोयल आचार्य, चीनको युनानमा प्राध्यापन गर्दै आएका भरत शर्मा लगायत उपस्थिति रहेका थिए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार ०९:१०