८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

सशस्त्र प्रहरीसँगको मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मीको टिम २-१ ले विजयी

६ माघ, काठमाडौँ । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा सशस्त्र प्रहरी बल नेपाल र संचारकर्मीबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ । शनिबार बिहान एपिएफ रंगशाला हलचोकमा भएको खेलमा सशस्त्र प्रहरीको टिम माथि सञ्चारकर्मीको टिमले २-१ को जित निकाल्यो ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसहितको उपस्थितिमा भएको खेलमा सशस्त्रको तर्फबाट कप्तानी डिआइजी किशोर प्रधानले गरेका थिए भने सञ्चारकर्मीको तर्फबाट दीपक रिजालले कप्तानी गरेका थिए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकियो थियो । भने दोस्रो हाफमा सञ्चारकर्मीको तर्फबाट अर्को एक गोल थपिएको थियो । सशस्त्र प्रहरीका लागि सशस्त्र प्रहरी निरीक्षक दिनेश खड्काले गोल गरेका थिए भने सञ्चारकर्मीका लागि आशिष पुडासैनी र दिवेश जेठाराले एक एक गोलको योगदान दिएका थिए ।

सशस्त्र प्रहरी प्रमुख अर्यालले खेलाडीलाई बल हस्तान्तरण गरेर खेल सुरू गरिएको थियो । सशस्त्रले यसअघि दिवसकै सन्दर्भ पारेर नेपाल प्रहरी र नेपाली सेनासँग पनि मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार १४:२०