निलो पासपोर्टमा समेत बेलायतको भिसा नपाएपछि केएल पीडितको रमिता ‘…लाई भन्दा देख्नेलाई लाज’
६ माघ, काठमाडौँ । चलिचित्र विकास बोर्डका एक सदस्य केएल बुढाथोकी नामले चिनिने खेतुलाल बिसी ‘केएल पीडित’ले निलो पासपोर्टमा समेत बेलायतको भिसा नपाएपछि सिंहदरबार छिरेर रमिता देखाउन थालेका छन । बेलायतमा हुन लागेको चलचित्रसँग सम्बन्धित एक कार्यक्रमको सहभागिताको विषयलाई लिएर बोर्डभित्र झण्डै तीन साता तनाव सिर्जना गरेका केएलले आफ्नो भिसा नलागेपछि बोर्डको हुर्मत लिन खोजेका छन ।
शुक्रबार बिहानभर बोर्डका अध्यक्ष र कर्मचारीलाई आफू जान नपाएपछि बोर्डको नाममा अध्यक्ष भुवन केसी पनि बेलायत जान नपाउने भन्दै विभिन्न अभिव्यक्ति दिइरहेका केएलले दिउँसो अचानक सिंहदरबार छिरेर सञ्चार मन्त्रालयका सचिवलाई कार्यक्रममा बोर्डको सहभागिता रोकी पाउँ भन्दै निवेदन दिएका छन ।
इन्टरनेसनल डेल्फिक काउन्सिल नेपाले फ्रेबुअरी १० मा लण्डनमा गर्न लागेको ‘नेपाली चलचित्रको ६ दशक, चुनौतीहरु र अन्तर्राष्ट्रिय बजारको खोजी’ कार्यक्रममा थोरै पैसा हालेर चलचित्र विकास बोर्डले समेत सहभागिता जनाउन लागेको थियो । त्यसका लागि मन्त्रालयसँग पटक पटक छलफल गरेर बोर्डले निर्णय गरेको थियो ।
कार्यक्रममा बोर्डका तर्फबाट अध्यक्ष भुवन केसी र सदस्य केएलले सहभागिता जनाउने गरी निर्णय भएको थियो । त्यसपछि निलो पासपोर्ट बनाएर उक्त कार्यक्रममा लागि भिएफएस पुगेर आवश्यक प्रक्रिया पूरा गरेर भिसाका लागि निवेदन दिएका थिए तर केएलको दुर्भाग्य ब्रिटिस हाइकमिसनले उनको भिसा निवेदन अस्वीकार गरी निलो पासपोर्टमा हैन साधारण पासपोर्टमा निवेदन दिन भन्यो ।
दैनिकीको सम्पर्कमा आएका बोर्डका एक सदस्यले नाम नबताउने सर्तमा भने, ‘बेलायतको इमिग्रेसनले निलो पासपोर्टमा भिसा दिनका लागि आवश्यक कागजात नपुगेको लगायतको कारण दिएको थियो । त्यसपछि तनावमा देखिएका केएल केही दिन शान्त जस्तो बनेर आफू जान नपाएपछि चलचित्र विकास बोर्डको नाम जोडेर कार्यक्रम हुन नदिने र अध्यक्ष केसीलाई पनि जान दिन्न भन्दै हिँडेका थिए । शुक्रबार त …लाई भन्दा देख्नेलाई लाज हुने गरी निवेदन दिएछन । केएलको यस गतिबिधिले बोर्डको छविमा निकै नकारात्मक असर परेको छ ।’
केएलले मन्त्रालयमा पेश गरेको पत्रमा आयोजक संस्थाको आर्थिक पारदर्शिता र उद्देश्यमाथि प्रश्न उठाएका छन् । उनले मन्त्रालयमा बुझाएको दुई पानामा भएको पत्रमा भनिएको छ ‘कार्यक्रमको विश्वसनीयता र गरिमा बढाउन चलचित्र विकास बोर्डको सहभागिताको प्रचार व्यापक गरिएको छ । यो एकप्रकारको बोर्डको दुरुपयोग हो ।’ उनले डेल्फीकले सहभागिसँग एक हजार युरो उठाउन खोजेको आरोप समेत लगाएका छन ।
यता डेल्फिक काउन्सिल नेपालका अध्यक्ष बाबुराम अर्याल (बिएल)ले संस्थामाथि बुढाथोकीले लगाएको आरोप झुटो भएको बताए । अर्यालले दैनिकीसँग कुरा गर्दै भने ‘स्पोन्सर भन्दा बाहेकसँग पैसा मागिएको छैन । विभिन्न नौ वटा संस्थासँग हामीले संस्थागत सहकार्यका लागि पत्र पठाएका थियौँ । त्यसमा उहाँहरूको संस्थाको आन्तरिक विषय केही भए उहाँहरूले नै जान्ने कुरा हो तर हाम्रोमा केही समस्या छैन ।’
प्रकाशित मिति : ६ माघ २०८०, शनिबार ०६:५२