२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

नेपाली कांग्रेसका नेता बादे १५ लाख घुससहित पक्राउ, विदेशी मुद्रा र गाडी पनि बरामद

४ माघ, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं वनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादे घुससहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले बादेलाई भक्तपुरबाट घुस बापत लिएको १५ लाख रूपैयाँ र अन्य दुई देशको विदेशी मुद्रासहित पक्राउ गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार बादे बुधबार राति भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघरबाट पक्राउ परेका हुन । उनको साथबाट एक गाडी पनि बरामद भएको छ भने गाडी चालक पनि पक्राउ परेका छन । जापनिज येन र अमेरिकी डलर समेत बरामद गरेको छ । बादेको साथबाट अख्तियारको टोलीले जापनिज येन १० हजार र अमेरिकी डलर एक सय बरामद गरेको हो । त्यस्तै टोलीले हुण्डाइ आई १० गाडी पनि बरामद भएको छ ।

बादेले वनेपा नगरपालिका वडा नम्बर ९ का एक स्थानीयसँग घरको बाटो सिफारिसका लागि १५ लाख रूपैयाँ घुस मागेका थिए । घुसको कारोबार हुँदैछ भन्ने सूचना पाएको अख्तियारको टोलीले भक्तपुरको गठ्ठाघरमाबाट पक्राउ गरेको हो । बादे नेपाल विद्यार्थी संघ काभ्रेका सभापति समेत हुन । उनी काभ्रेकै होटल ब्ल्याक एण्ड ह्वाइटका सञ्चालक समेत हुन ।

वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ न। को कार चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न। ७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत गाडीसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनी नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार ०७:२४