९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

पासाङल्हामु राजमार्गको मुनी उभिएर अर्थमन्त्रीले भने स्तरोन्नतिको काम चाँडै सुरु हुन्छ

२४ पुस, नुवाकोट । अर्थमन्त्री डा प्रकाशरण महतले नुवाकोटलाई काठमाडौँसँग जोड्ने पासाङल्हामु राजमार्गको स्तरोन्नति प्रक्रिया चाँडै अघि बढ्ने बताएका छन । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा रहेको पञ्चकन्या माविको ४८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले सो सडकको स्तरोन्नतिका क्रममा जीर्ण भएको सडक एक वर्षभित्र चरणबद्ध रुपमा ठेक्का लगाइसक्ने प्रतिबद्धता व्यक्त गरे । पासङल्हामु राजमार्गबाट दश मिटर तल रहेको विद्यालयको प्रांगणमा उभिएर अर्थमन्त्री महतले सडक चाँडै बन्ने विश्वास दिलाउने कोशिश गरे ।

त्रिशूलीदेखि ककनी हुँदै बालाजु जोड्ने ७२ किलोमिटर सडकको काठमाडौँतर्फ निर्माण सम्पन्न भइसकेकाले नुवाकोटतर्फको सडकलाई दुई चरणमा ठेक्का लगाउन लागिएको अर्थमन्त्री महतले बताए । “काठमाडाैँको तीनपिप्लेदेखि नुवाकोटको ककनीसम्म एक अर्ब ३३ करोड बजेट सुनिश्चित गरेर बहुवर्षीय ठेक्का लगाइसकेको छ”, अर्थमन्त्री महतले भने, “ककनीदेखि पीपलटारसम्मको सडक यसअघिको ठेक्काबाट बच्ने रकममा सम्बोधन हुनसक्छ । त्यसो नभए आगामी आर्थिक वर्षको बजेट छुट्याएर काम सुरु हुन्छ भन्नेमा ढुक्क हुनुहोस् ।”

विसंं २०१८ मा विस्तार भएको नुवाकोट र रसुवा जोड्ने पासाङल्हामु राजमार्ग दश वर्षअघि एक लेनबाट दुई लेन बनाउनका लागि ठेक्का लगाइएको थियो । उक्त समयमा यसअघि गरिएको कालोपत्र खनेपश्चात् निर्माण व्यवसायीले काम नगरेपछि सरकारले ठेक्का तोडेको थियो ।

सञ्चालन अवस्थामा रहेको सडक स्तरोन्नतिका लागि जीर्ण बनाएसँगै पछिल्लो एक दशकदेखि यस सडकमा आउजाउ गर्न समस्या भएको थियो । सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवं पूर्वमन्त्री केशवराज पाण्डे लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा विद्यालयमा एक दशक भन्दा बढी प्रधानाध्यापकको भूमिकामा रहेका शम्भु तिवारीको बिदाइ गरिएको थियो । त्यसै कार्यक्रममा वडा अध्यक्षमा निर्वाचित भएकामा सोही विद्यालयका पूर्व विद्यार्थी एवं अहिलेका व्यवस्थापन समितिका पदेन सदस्य प्रकाशजंग पाण्डेलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बेलकोट नगरपालिकाका पूर्व मेयर राजेन्द्ररमण खनाल, नेपाली कांग्रेसका नेता कृष्ण पाण्डे, बैकुण्ठबहादुर पाण्डे लगायत उपस्थित रहेका थिए ।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार ०७:४९