१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

उपप्रमुखको ‘कमिसन ताकेता’ प्रकरणः कांग्रेसले कारबाहीका लागि सहयोग गर्ने

१७ पुस, नुवाकोट । नेपाली कांग्रेसले नुवाकोटको बेलकोटगढी नगरपालिकाका उपप्रमुखको ‘कमिसन ताकेता’ प्रकरणमा कारबाहीका लागि इमान्दारिता पूर्वक सहयोग गर्ने बताएको छ । कांग्रेस बेलकोटगढीका सभापति लेखनाथ मुडभरीले सामाजिक सञ्जालम फेसबुक मार्फत ‘कमिसन ताकेता’ प्रकरणमा  दोषी जो कोही भए पनि कारवाही गर्न र कारवाही प्रक्रियामा पूर्ण सहयोग रहने जानकारी दिएका छन ।

सभापति मुडभरीले नगरपालिकालाई हालसम्म भएको राम्रो वा नराम्रो प्रष्ट पार्न र सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्न आग्रह पनि गरेका छन । सभापति मुडभरीले ‘कमिसन ताकेता’ प्रकरणको विवरणसँगै अडियो पनि सार्वजनिक गरिदिन अनुरोध गरेका छन ।

भएको के थियो ? 

उपप्रमुखले नै योजनाको भुक्तानीपछि कमिसनका लागि ताकेतामा लाग्ने गरेको बारेमा सोमबार दैनिकीले ‘कामको गुणस्तरमा मतलब छैन कमिसनका लागि आफैँ ताकेता गर्छन जनप्रतिनिधि’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । समाचारमा बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल र एक जना निर्माण व्यवसायीका बीचमा भएको संवादको अडियो विषय र उपप्रमुख दाहाल र प्रमुख जगत गुरूङको भनाइ समेटिएको थियो ।

उक्त अडियोमा उपप्रमुख दाहालले सबैजसो योजनाको भुक्तानपछि कमिसनका लागि ताकेता गर्ने गरेको प्रष्ट बुझ्न सकिन्छ । दाहालले जुन व्यवसायीसँग डिल गरेका छन उनलाई त अहिले कमिसन नदिए भोलिका दिनमा भुक्तानीका लागि सही (हस्ताक्षर) नै नगर्ने चेतावनी समेत दिएका छन । उनले आश गरेर आफ्नो पछि लाग्नेहरू र कांग्रेस पार्टीका लागि समेत आफूले योगदान गर्नुपर्ने भन्दै कमिसन ताकेता गरेका छन ।

बेलकोटगढीमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कम गुणस्तरको काम गर्ने र कमिसन दिने सर्तमा व्यवसायीहरूले भुक्तानी लिने गरेको आम गुनासो उक्त अडियोले नै पुष्टि गरेको छ । दैनिकीले अडियो संवादमा कमिसन माग्ने उपप्रमुख दाहालसँग चासो राख्दा उनले यस्तो विषयमा कार्यालयमा बसेरमात्र कुरा गर्ने तर फोनमा कुरा नगर्ने बताएका छन । उनले भने, ‘तपाई पत्रकार नै हो कि होइन मैले कसरी चिन्ने रु तपाईसँग प्रमाण छ कि छैन मैले कसरी थाहा पाएर जवाफ दिने रु त्यही भएर कार्यालयमै आउनुस् त्यहीँ कुरा गरौँला ।’

हामीले नगरप्रमुख जगत गुरूङसँग पनि उपप्रमुखले कमिसन माग्ने गरेको गुनासो रहेछ भनि चासो राख्दा उनले पनि आफूले पनि हल्लामात्र सुनेको तर प्रमण नभेटेको बताए । प्रमुख गुरूङले प्रमाण नहुँदा केही बोल्न नमिल्ने भन्दै प्रमाण प्राप्त भएपछि नगरपालिकाको केन्द्र बाघखोरमा पत्रकार सम्मेलन नै गरेर आफूले बोल्ने जानकारी दिएका छन ।

दुई नगरपालिका र दश गाउँपालिका रहेको नुवाकोट जिल्लामा सुशासनको सवालमा बेलकोटगढी नगरपालिका अन्तिमबाट पहिलो हुने प्रतिस्पर्धामा देखिएको छ । प्रायः योजनाहरू पूरा नहुँदै भुक्तानी दिनेमा बेलकोटगढी अग्रस्थानमा परेको छ । यसअघि देखिकै करोडौँ बेरूजी भारी समेत बोकेर बसेको नगरपालिकामा यस्तो योजनाहरूको भुक्तानी लगायतको विषयमा  घुस माग्ने दुई जना इन्जिनियरहरू पालैपालो घुससहित पक्राउ परेका थिए । ती इन्जिनियरहरूले जनप्रतिनिधिका लागि घुस उठाउने गरेको वयानका क्रममा बताएका थिए ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार ०७:२४