२० अर्ब २५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक
१५ पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार जारी हुने उक्त ट्रेजरी बिलका लागि पुस १६ गते सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले ९१ दिनको लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी चैत २० गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ असार १९ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ पुस १६ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
प्रकाशित मिति : १५ पुष २०८०, आईतवार १३:५९












