१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

विदेश जाने विद्यार्थी र कामदारका लागि राष्ट्र बैंकले बढायो मुद्रा सटही सुविधा

१३ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधा बढाएको छ। राष्ट्र बैंकले  एकिकृत परिपत्र २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

नयाँ संशोधित व्यवस्था अनुसार अब उच्च शिक्षा हासिल गर्न क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया लगायत युरोपेली मुलुकहरुमा जाने नेपालीहरूका लागि १२ हजार अमेरिकी डलरसम्मको सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । यसअघि विद्यार्थीहरुलाई १० हजार डलरसम्मको सटहीको सुविधा दिइएको थियो ।

यसका साथै राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत प्रदान गरिने सटही सुविधाको दायरा समेत बढाएको छ । बैंकले जापान,दक्षिण कोरिया,युरोप महादेश,अमेरिका र क्यानडामा रोजगारीका लागि जाने कामदारलाई राहदानी बापत अधिकतम ५०० डलरको सटही सुविधाको व्यवस्था गरेको छ ।

यसअघि यस्तो सुविधा २०० डलर थियो । जापान,दक्षिण कोरिया,युरोप महादेश,अमेरिका र क्यानडा बाहेकका मुलकमा जाने कामदारको हकमा भने यो सिमा २०० डलर तोकिएको छ ।

नयाँ व्यवस्था अनुसार विद्युतीय माध्यमबाट जारी हुने भिसा र टिकटको आधारमा सोको प्रिन्ट संलग्न भई आएको आधारमा समेत सटही सुविधा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार ०९:५४