१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सूर्य थापा इन्चार्ज भएपछि गुल्मीको १२ वटै पालिकामा एमालेको वैचारिक प्रशिक्षण

४ पुस, काठमाडौँ । नेकपा एमालेले मिसन ग्रासरूट अभियान चलाएर पार्टीको तल्लोस्तरको गुनासोको सम्बोधन र कमजोरीको समिक्षा गर्दै नेताहरूको व्यापक जिम्मेवारी हेरफेर गरेपछि पार्टीभित्र नयाँ खालको उर्जा सञ्चार भएको छ । एमालेभित्र वैचारिक प्रशिक्षण शून्यतामा पुगेको भन्दै आलोचना समेत भैरहेहो परीप्रेक्ष्यमा थापाले गुल्मीको इन्चार्ज भएर गैसकेपछि झण्डै एक महिना लगाएर गुल्मीको १२ वटै स्थानीय तहमा पार्टीको प्रशिक्षण सम्पन्न गरेका छन ।

एमालेको पोलिटब्यूरो सदस्य समेत रहेका गुल्मी इन्चार्ज थापाले मंसिर ११ मा सुरू गरेको अभियान पुस २ गते सम्पन्न गरेको जानकारी दिएका छन । यही बीचमा नेकपा एमालेले पुष्पलाल मध्यपहाडी संकल्प यात्रा गर्दा हजारौँको उपस्थितिमा गुल्मीको वामी टक्सारमा भव्य सभा समेत सम्पन्न गरेको थियो ।

जिल्लाका सबै पालिकामा दुई दिने अवासीय र व्यवस्थित प्रशिक्षण दिने पहिलो जिल्ला बनेको छ । अन्य जिल्लामा पनि फाट्टफुट्ट प्रशिक्षणका कार्यक्रमहरू भैरहेको भए पनि योजनावद्ध र व्यवस्थित रूपमा तालिका नै बनाएर सबै पालिकामा दुई दिने प्रशिक्षण दिनेमा भने गुल्मी पहिलो बनेको छ ।

दैनिकीसँग कुरा गर्दै इन्चार्ज थापाले लामो समयदेखि वैचारिक प्रशिक्षण नभएको गुनासो रहँदै आएकोमा यस पटकको जिल्लाव्यापी प्रशिक्षणले पार्टीपंङ्तिमा नयाँ उत्साह र ऊर्जा सिर्जना गरेको अनुभूति भएको बताए । उनले प्रशिक्षणले वैचारिक एकता र प्रष्टता बनाउन ठूलो सहयोग पुगेको बताए । थापाले दैनिकीसँग भने,  ‘प्रशिक्षण अघि र पछिको अवस्थामा नेता कार्यकर्तामा निकै ठूलो परिवर्तनको अनुभुति देखिएको छ । यसले निराशा घटाउन, काम गर्नेलाई प्रोत्साहित गर्न, पार्टीको अन्तरद्धन्द्ध कम गराउन, नेता र कार्यकर्ताको बीचमा विश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । यो सकारात्मक कुरा हो ।’

थापाले १२ वटै पालिको प्रशिक्षणमा नेपाल कम्युनिष्ट पार्टीको इतिहास, दसौँ महाधिवेशनका निर्णय र कार्यभार, दर्शन शास्त्र, संगठन व्यस्थापन र महत्व र अनुशासन, नेतृत्वको शैली, आचारण र नेतृत्व विकास, स्थानीय सरकारका जनप्रतिनिधि र पार्टीबीचको अन्तरसम्बन्ध, जनताको बहुदलीय जनवाद, राजनीतिक अर्थशास्त्र र उद्यम र उद्यमशीलताका बारेमा मसिनो ढंगले जानकारी दिइएको बताए ।

दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीका १२ वटै पालिकामा दुई दिने प्रशिक्षण कार्यक्रम गरेर कार्यकर्तामा उर्जा भरिएको एमाले युवा नेता राजेन्द्र अर्यालले दैनिकीलाई जानकारी दिए । अर्यालका अनुसार रेसुंगा नगरपालिका, मुसीकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, रुरु क्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, इश्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा छुट्टाछुट्टै प्रशिक्षण सम्पन्न भएको छ ।

युवा नेता अर्यालले विगतमा प्रशिक्षण भनेको नेताहरूको भाषणमात्रै जस्तो बुझेका नेता कार्यकर्ताले यस पटकको दुई दिने प्रशिक्षण सीपमुलक तालिम जस्तो भएको अनुभुति गरेको बताए । उनले छुटेकाहरू चाँडै अर्को प्रशिक्षण मागेको र सहभागी भएकाले दुई दिनमै धेरै विषय पढ्नु परेको भन्दै कम्तिमा तीन दिनको प्रशिक्षण बनाउन सुझाव दिएको जानकारी दिए । अर्यालले पार्टीको दसौँ महाधिवेशनको कार्यभार र मिसन ग्रासरूटको सुझाव कार्यान्वयन  गर्दा पार्टीमा नयाँ सञ्चार भएको बताए ।

रेसुंङगा नगरपालिकाको तम्घासबाट २०८० मंसिर ११ गते शुरू गरिएको उक्त कार्यक्रम पुस २ गते चन्द्रकोटको शान्तिपुरमा पुगेर सम्पन्न भएको र ८ सय जनालाई प्रशिक्षण दिइएको इन्चार्ज थापाले बताए । इन्चार्ज थापासहित केन्द्रीय सदस्यहरू दिनेश पन्थी, जंग नेपाली र गणेश खनाल, जिल्ला अध्यक्ष बालसिंह काउछा, नेताहरू सोमनाथ सापकोटा, गणेश श्रीपाली, धर्म विश्वकर्मा, गोविन्द गौतम, चक्रबन्धु भुसाल, राजेन्द्र अर्याल र गणेश श्रेष्ठलगायतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण व्यवस्थापनमा रेसुङ्गा नगरकमिटीका अध्यक्ष हरि पोखरेल, छत्रकोट गाउँकमिटीका अध्यक्ष पिताम्बर अर्याल, रूरू क्षेत्र गाउँ कमिटीका अध्यक्ष फर्शु ज्ञवाली, सत्यवती गाउँ कमिटीका अध्यक्ष भीम पाण्डे, गुल्मीदरबार गाउँकमिटीका अध्यक्ष कृष्ण खनाल, धुर्कोट गाउँकमिटीका अध्यक्ष लोकबहादुर खत्री, मदाने गाउँ कमिटीका अध्यक्ष प्रेम केसी, मालिका गाउँकमिटीका अध्यक्ष ओमबहादुर कार्की, इस्मा गाउँमिटीका अध्यक्ष राजेन्द्रविक्रम कुँवर, मुसिकोट नगरकमिटीका अध्यक्ष प्रकाश काफ्ले, कालीगण्डकी गाउँकमिटीका अध्यक्ष रामजी ढकाल र चन्द्रकोट गाउँकमिटीका अध्यक्ष धाचानन्द शर्माले प्रशिक्षणको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै इन्चार्ज थापाले धन्यवाद दिएका छन ।

प्रकाशित मिति : ४ पुष २०८०, बुधबार ०९:०३