बैंकमा ठगी गर्ने १९० जना पक्राउ, अधिकांश बैंककै कर्मचारी
२८ कात्तिक, काठमाडौँ । बैङ्किङ ठगीका घटना फेरि पनि मौलाउँदो क्रममा रहेको केन्द्रीय अनुसन्धान ब्युरोको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको चार महिनामा सीआईबीले बैङ्किङ कसुरअन्तर्गत सात जनालाई पक्राउ गरेर उच्च अदालत पाटनलाई जिम्मा लगाइसकेको छ ।
सिटिजन्स इन्टरनेसनल बैङ्क लिमिटेडलाई १ करोड २८ लाख हानी पुर्याउने पाँच जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत भदौमा पक्रेको थियो । बैङ्कको न्युरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखेर विभिन्न समयमा ऋण प्रवाह गरेको भन्दै ती सबै व्यक्तिलाई सीआईबीले पक्रिएको हो ।
यता, सनराइज बैङ्कको पीओएस मेसिन दुरुपयोग गर्नेलाई पनि प्रहरीले पक्रियो । आयात निर्यातको काम गर्ने भन्दै पीओएस मेसिन लिएर २२ लाख ७७ हजार ४ सय ५२ रुपैयाँ ठगी गर्ने तारकेश्वरका प्रदीप न्यौपानेलाई प्रहरीले पक्रेको थियो । यो त बैङ्किङ कसुरअन्तर्गत भएका पछिल्ला घटना हुन् ।
सीआईबीले अनुसन्धान गरेर मुद्दा अघि बढाएका बैङ्किङ कसुरका घटनामा पछिल्लो आठ वर्षमा १ सय ९० जना पक्राउ परिसकेका छन् । हालसम्म २१ अर्ब ३७ करोड ४१ लाख ९ सय ७६ रुपैयाँ बिगो मागदाबी गर्दै उनीहरुमाथि मुद्दा चलाइएको हो । यद्यपि, आव ०७०/०७१ अघिका अधिकांश बैङ्किङ ठगीका केसहरु फैसला भइसकेको छ ।
गत आर्थिक वर्षमा (२०७४/०७५) बैङ्किङ कसुरअन्तर्गत ५३ जना पक्राउमा परेका थिए । पक्राउ सङ्ख्याको आधारमा यो हालसम्मकै उच्च हो । धेरैजसो बैङ्किङ ठगी कमसल धितो राखेर कर्जा प्रवाह गर्ने, चिनजानका आधारमा ऋण प्रवाह गर्ने र बैङ्कका कर्मचारीमा उच्च महत्वाकाङ्क्षा हुँदा ठगीमा संलग्न हुने जस्ता कारण बैङ्किङ ठगी बढेको सीआईबीका डीएसपी श्याम ओलियाले बताए ।
प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार ११:४८












