मोरङमा प्रेमीसँग मिलेर गरीन् श्रीमतीले अाफ्नै श्रीमानको हत्या !
२७ कात्तिक मोरङ । मोरङमा श्रीमतीले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेको खुलासा भएकाे छ । प्रेमीसँगको सम्बन्ध श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिका ३ कि ३० बर्षकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर ४५ बर्षका पति सोही हेमरमको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गत कात्तिक २४ गते हेमरन श्रीमान श्रीमतीबीच दिनभरी झगडा भएको प्रहरीले बताएकाे छ । सोही र फुलमुनीको झगडा भएपछि छिमेकीसमेत रहेका मदनले सोहीलाई घरबाट लगेर मदिरा सेवन गराएका थिए । मदिरा सेवन गरी राति मदनसँगै फर्किएका सोहीले पुन श्रीमतीसँग झगडा गरेपछि फुलमुनीले पिर्काले प्रहार गरेकी थिइन् ।
पिर्काले कन्चटमा लागेपछि लडेका सोहीलाई मदन र फुलमुनीले मिलेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए । हत्या भएको खबर पाएपछि पुगेको प्रहरीले फुलमुनीलाई घरबाट नै पक्राउ गरेको थियो भने २६ बर्षका प्रेमी मदनलाई सुनबर्षी ३ अन्तरगत बक्राहा खोलाछेउमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैजनाले हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले दुवैलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट सोमबार म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । बुबाको हत्या आरोपमा आमा पक्राउ परेपछि हेमरनका ३ छोराछोरीलाई सानिमाको जिम्मा लगाइएको छ । हेमरनमा ४ छोराछोरीमध्ये जेठी छोरीको विवाह भइसकेको छ । अन्य तीन जनालाई छिमेकमै रहेकी सानिमाको जिम्मा लगाइएको प्रहरी निरिक्षक कार्कीले बताए ।
प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार १६:०१












