२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

बक्यौता नतिर्ने ३० दूरसञ्चार सेवा प्रदायककाे अनुमतिपत्र खारेज गर्ने प्राधिकरणको चेतावनी

१७ मंसिर, काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने ३० दूरसञ्चार सेवा प्रदायकलाई सम्पर्कमा नआए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ। प्राधिकरणले आइतबार सूचना जारी गर्दै नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको र बक्यौता जम्मा नगर्ने ३० वटा सेवा प्रदायक कम्पनीको अनुमपतिपत्र खारेज गर्ने चेतावनी दिएको हो ।

‘प्राधिकरणबाट दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमतिपत्र प्राप्त देहायका सेवा प्रदायकहरुले विगत केहि वर्षदेखि नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको र बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक–पटक सम्पर्क गर्न पत्राचार तथा इमेल गर्दा समेत सम्पर्क हुन नसकेको हुँदा सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नको लागि यसै सूचनामार्फत् जानकारी गराइन्छ’ प्राधिकरणले जारी सूचनामा उल्लेख छ ।

उक्त अवधि भित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएकाे छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १२:३१