२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

सिमठाना र सिमठानीमा खानेपानी विस्तार गरिँदै

७ मङ्सिर, तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारको लगानीमा दाङको दङ्गीशरण गाउँपालिका–७ स्थित सिमठाना र सिमठानी गाउँमा खानेपानीको काम अघि बढेको छ । खानेपानीको समस्या भोग्दै आएका यहाँका करिब तीन सय घरधुरीका लागि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत खानेपानी विस्तारको काम अघि बढेको हो ।
यसअघि कुवाको पानीको भरमा यहाँका बासिन्दाको दैनिकी चलिरहेकामा कुवा पनि सुकेपछि थप समस्या भएको थियो । कुवा सुकेपछि जरुवाको अशुद्ध पानीको भरमा दैनिकी चलाएका यहाँका स्थानीय शुद्ध पानी पाउने भएपछि खुसी भएका छन् ।
कार्यालयका इञ्जिनियर वसन्तकुमार दुलालका अनुसार खानेपानीका लागि बोरिङ तयार भइसकेको छ । “एकसय २२ मिटर गहिरो खनेर बोरिङ तयार पारेका छौँ”, उहाँले भन्नुभयो, “अहिले तयार पारिएको बोरिङबाट २० लिटरप्रति सेकेन्ड पानी फालिरहेको छ ।” योसँगै अब ओभरहेड ट्याङ्की निर्माणको कामलाई अगाडि बढाउन थालिएको उनको भनाइ थियो ।
ओभरहेड ट्याङ्की निर्माण भएमा यहाँका प्रतयेक घरमा खानेपानी पुर्‍याउन सकिने दुलाले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले रू ५० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटले अहिले काम भइरहेको उनको भनाइ थियो ।
थप बजेट आवश्यक परेमा व्यवस्थापन गरेर घरघरमा खानेपानी पुर्‍याइने प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए । ‘एक घर, एक धारा’ भन्ने प्रदेश सरकारको नारा नै भएकाले आफूहरुले खानेपानी नपुगेको ठाउँमा खानेपानी पुर्‍याउने गरी काम अघि बढाइरहेको उनको भनाइ थियो । “खानेपानी पुर्‍याउने सरकारको दायित्व हो”, मन्त्री मास्कीले भने, “सिमठाना र सीमठानी गाउँमा छिट्टै खानेपानी पुर्‍याउने गरी काम भइरहेको छ ।”
विद्युत् र पम्प हाउस जडान गरेमा छिट्टै यहाँका बासिन्दाले खानेपानी पाउने गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले बताए । पहिलो चरणमा घरघरमा खानेपानी पुर्‍याउने उद्देश्यले खानेपानीका लागि आवश्यक संरचना निर्माण अघि बढाइएको उनले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार १६:३७