२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

उजुरी दिन क्युआर कोर्ड कर्णालीका घर घरमा

६ मङ्सिर, जाजरकोट । कर्णालीका सबै घरमा पुगेर घर घरमा स्टिकर टाँस गरेको कर्णाली प्रहरीले आजदेखि  फेरि उजुरी दिन क्युआर कोर्ड सञ्चालनमा ल्याएको छ । यसबाट यहाँका नागरिकलाई उजुरी दिन प्रहरी कार्यालयमै आउनु नपर्ने भएको छ ।
क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन सक्ने प्रणालिको विकास गरेपछि सर्वसाधारणको  समय बचत भएको छ । अब कर्णालीवासीले घरबाटै क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिनसक्ने व्यवस्था भएपछि राहतको महसुस भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले उक्त क्युआर कोर्डको उद्घाटन गरेर सेवा आरम्भ गरे।
  क्युआर कोर्ड सञ्चालनमा आएसँगै अब कर्णालीवासीले प्रहरीमा उजुरी दिनुपरे घरबाटै दिनसक्ने भएका छन् । सुरक्षित कर्णाली निर्माण गर्न सात वटा अभियान सञ्चालन गरिएको छ भन्दै उनले नागरिकले सुरक्षित र सहज रुपमा सुरक्षा सेवा पाउन भन्ने उद्देश्यले  क्युआर सिस्टम सञ्चालनमा ल्याइएको बताए ।
“सुरक्षाप्रति विश्वास बढाउन, नागरिकसँग नजिक हुन र नागरिकलाई सहज सेवा प्रदान गर्न हामीले यो अभियान सञ्चालनमा ल्याएका हौँ,” प्रहरी प्रमुख ढकालले भने, “नागरिकलाई सेवा लिन जाँदा दुःख नहोस् भनेर यो सेवा सञ्चालनमा ल्याइएको  हो । क्युआर कोडमार्फत आएका गुनासालाई तीन प्रकारमा वर्गीकरण गरिएको छ । ”
उहाँका अनुसार अति जरुरी प्रकारको उजुरी आए तत्कालै छानविन अघि बढाइने, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीबारे छानबिन गरी उजुरीकर्तालाई जानकारी दिइने छ । प्रहरी प्रमुख ढकालले उजुरीकर्ताको गोपनीयता कायम राखेर कानुनी प्रक्रिया अघि बढाइने बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १५:४७