१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

९ वाणिज्य बैंकले घोषणा गरे लाभांश, बाँकीकाे के छ तयारी ?

४ मंसिर, काठमाडौं । अहिलेसम्म ९ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । कुल २० वाणिज्य बैंकमध्ये हालसम्म ९ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् भने अब राष्ट्रिय वाणिज्य बैंक बाहेक १० बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ ।

लाभांश वितरण गर्न बाँकी रहेका बैंकहरूमध्ये नबिल, एनएमबी र प्रभु बैंकले लाभांश वितरणका लागि नेपाल राष्ट्रबाट स्वीकृत लिने प्रक्रियामा छन् । अन्य बाँकी बैंकले पुस मसान्तभित्र वार्षिक साधारणसभा गरिसक्नु पर्ने भएकाले लाभांश घोषणा गर्ने दबावमा छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी ९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । साथै, सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ ।

पाँच वाणिज्य बैंकहरु भने दशैंअघि नै वार्षिक साधारणसभा गरेर सेयरधनीको खातामा लाभांश पठाइसकेका छन् । एनआईसी एशिया, एभरेष्ट, माछापुच्छ्रे, सनिमा र सिटिजन्स बैंकले दशैंअघि नै लाभांश वितरण गरिसकेका छन् ।

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरी कूल १४ प्रतिशत लाभांश वितरण गरिसकेको छ । यद्यपी यसको बोनस सुयर भने लगानीकर्ताको खातामा आइसकेको छैन् ।

यसैगरी, सिटिजन्स बैंकले पनि दसैंअघि नै लगानीकर्तालाई चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिएको छ । एनआईसी एशिया बैंकले दशैंअघि नै वार्षिक साधारणसभा गरिसकेको छ । एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

साथै, एभरेष्ट बैंकले पनि दशैंअघि नै वार्षिक साधारणसभा गरेको छ । एभरेष्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको छ । यो बैंकले वितरण गरेको नगद लाभांश सेयधनीको खातामा आइसकेको छ ।

यसैगरी, सानिमा बैंकले दशैंअघि नै वार्षिक साधारणसभा गरेको छ । यस बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यो बैंकले वितरण गरेको नगद लाभांश पनि सेयरधनीको खातामा आइसकेको छ।

साथै, आज मात्रै एसबिआई बैंकले पनि हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६.८० प्रतिशत नगद लाभांश गरी कुल १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बाँकी बैंकहरू पनि पुस मसान्तभित्र नै सेयरधनीलाइ वितरण गर्ने लाभांश घाेषणा गर्ने तयारीमा छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार १४:२४