२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

ट्याक्सीमा छुटेको ४० लाख बराबरको गहना चालकले बुझाए प्रहरीलाई

३ मंसिर, काठमाडाैं ।  काठमाडौंको जडिबुटीबाट जम्मुडाँडासम्म जाने क्रममा यात्रुले ट्याक्सीमा छोडेका ४० लाख मूल्य बराबरका सुनचाँदीका गहना ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । जडिबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज ३४५३ नम्बरको ट्याक्सीमा करिब ७ तोला बराबरको सुन र ४ तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी संगिता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेकी थिइन्।

सो खबर र लिखित निवेदनको आधारमा ट्राफिक प्रहरीले सिसिटिभी क्यामेराको सहायतामा ट्याक्सी खोजिरहेको थियो । त्यहीबेला ट्याक्सी चालक रोशन बयलकोटी आफैंले आइतबार बिहान प्रहरी वृत्त गौशालामा उक्त गहना बुझाउन पुगेका थिए। त्‍यसपछि ट्राफिक प्रहरीले सुन धनीलाई बोलाएर उक्त सुन बुझाएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको खोजतलास शाखाले सवारी साधनमा छुटेको धनमाल प्राप्त निवेदनका आधारमा खोजी गरेर धनीलाई बुझाउँदै आएको छ।

गत साउनदेखि हालसम्म १ सय ३३ जना व्यक्तिले दिएको निवेदनको आधारमा ९९ जनाको धनमाल खोजी गरी ४० लाख ६ हजार ६ सय २५ मुल्य बराबरको सामान सम्बन्धित धनिलाई बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

आफ्नो धनमालको सुरक्षा गर्न र सवारी साधनमा सामान छुटेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न तथा नजिकैको प्रहरी कार्यालयमा लिखित निवेदन बुझाउन पनि एसएसपी भट्टले आग्रह समेत ग्रेका छन्।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १३:५९