१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

नाफासँगै घट्यो नेपाल टेलिकमको प्रतिसेयर आम्दानी, यस्ता छन् अन्य सूचक

२६ कात्तिक, काठमाडाैं। नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९० प्रतिशत कम हो। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ५.४३ प्रतिशतले घटेको छ भने वित्तीय आम्दानी पनि ७.७८ प्रतिशतले घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी पनि ३.५४ प्रतिशतले घटेको छ।

 समीक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३.०४ प्रतिशतले बढेर ७८ अर्ब १३ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.४० रुपैयाँले घटेर ४५.०५ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ५३४.८ छ भने मूल्य आम्दानी अनुपात १८.४७ गुणा रहेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आईतवार १०:०८