१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

नेपालको जलविद्युतमा लगानी गर्न एशियाका बैंकरहरुलाई अर्थमन्त्रीको आग्रह

२३ कात्तिक, काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न एसियाका बैंकहरुलाई आग्रह गरेका छन् । आजदेखि काठमाडाैमा सुरु भएको एसियन बैंकर सङ्घको सम्मेलनमा अर्थमन्त्री डा महतले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको भन्दै एसियन मुलुकका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)समक्ष लगानी गर्न आह्वान गरेका हुन् ।

“नेपालमा निजी क्षेत्रका साथै विदेशी लगानीकर्ताका लागि ठूलो सम्भावना छ”, अर्थमन्त्री डा महतले भने, “भारतले १० वर्षमा १० हजार मेगावट जलविद्युत खरिद गर्ने प्रतिवद्धता जनाइसकेको अवस्थामा जलविद्युतमा लगानीको प्रशस्त सम्भावना छ । त्यसैले जलविद्युत्मा ढुक्कसँग लगानी गर्नुस् । सहजिकरणका लागि सरकार प्रतिबद्ध छ ।”

सरकारले नीतिगत रुपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने भन्दै उनले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको उल्लेख गरे। विश्व बैंक र एसियाली विकास बैंकले पनि नेपालको ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको भन्दै उनले विदेशी लगानी आकर्षण गर्न सरकारले लगानीमैत्री वातावरण बनाउनेमा विश्वास दिलाए ।

उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको बताए। सरकारले विद्युत् उत्पादन, साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरको अर्थमन्त्रीको भनाइ छ ।

नेपाल बैंकर सङघ र एशियन बैंकर सङघको संयुक्त आयोजनामा भएको दुई दिने सम्मेलनमा सदस्य १८ देशका ६० भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिको सहभागीता छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार १६:१३