१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

प्लास्टिकजन्य फूलको गुच्छा प्रयोग नगर्नुस् : प्रजिअ गैरे

२३ कातिक, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धादिङले प्लास्टिकजन्य फूलको गुच्छा, माला जस्ता सामग्रीको प्रयोग तथा बिक्री वितरण नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले चाडपर्व, सार्वजनिक समारोह, मेला, महोत्सव तथा अन्य कार्यमा प्लास्टिकजन्य फूलकोगुच्छा, मालालगायतका सामग्रीको प्रयोग तथा बिक्रीवितरणलाई पूर्णरुपमा नियन्त्रण गरिने बताए ।

उनले स्थानीयस्तरमा उत्पादित फूल तथा कृषि उपजहरुको प्रयोग गर्न गराउन जिल्लास्थित सार्वजनिक निकाय, राजनैतिक दल, उद्योगी व्यवसायी, नागरिक समाजलगायत सम्पूर्ण जिल्लावासीमा अनुरोधसमेत गरेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै प्लास्टिकजन्य फूलका गुच्छा, मालाआदिको उत्पादन, बिक्री वितरण वा भण्डारण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।

किसानबाट उत्पादित फूल स्थानीय माग धान्न पर्याप्त रहेको उल्लेख गर्दै सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरी नेपालभर प्लास्टिकजन्य फूलको गुच्छा उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा पूर्णरुपमा रोक लगाएको कार्यालयद्वारा आज जारी सूचनामा स्मरण गराइएको छ ।

प्लास्टिकजन्य फूलका गुच्छा, मालाका साथै चाडपर्वको समयमा हुनसक्ने कालोबजारी, तथा कृत्रिम अभावको सिर्जना गरी मूल्यवृद्धि गर्ने जस्ता कार्य नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार १२:०३