२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

तिनपिप्ले-रानीपौवा सडकः १ अर्ब ३३ करोड स्रोत सुनिश्चत, केही दिनमै ठेक्का लाग्ने

-पवित्रा मुडभरी

२ भदौ, काठमाडौँ । पासाङल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले-रानीपौवा सडकको टेण्डर केही दिनभित्रै हुने भएको छ । अर्थमन्त्री डा प्रकाशरशण महतका स्वकीयसचिव समेत रहेका नेपाली कांग्रेस नुवाकोटका सहसचिव उत्तम पाठकले सडकको केही दिनभित्रै टेण्डर हुने जानकारी दिए ।

अहिले आन्तरिक स्रोतबाटै सडक निर्माण गर्नका लागि स्रोत सुनिश्चत गरिएको स्वकीयसचिव पाठकले जानकारी दिए । उनले दैनिकीसँग कुरा गर्दै आन्तरिक स्रोतबाट पहिलो चरणमा तिनपिप्ले रानीपौवाको सडकमात्र विस्तार भएर पिच हुने बताए । उनले रानीपौवादेखि पिपलटार सडकको निर्माणका लागि भारतकै एक्जिम बैंकको ऋणमा अर्को ठेक्का लाग्ने तयारी भएको पनि बताए ।

सरकारले चालू आर्थिक वर्षको बजेट भाषणमा ५० करोड रूपैयाँ उक्त सडकका लागि बजेट विनियोजन गरेको थियो । सडकको डिपिआर तयार भएको र कुल लागत १ अर्ब ३३ करोड हुने अनुमान रहेको पाठकले बताएका छन । आइतबार अर्थमन्त्री डा प्रकाशरशण महतले स्रोत सुनिश्चित गरी उक्त योजना कार्यान्वयका लागि निर्णय गरेका छन । जसमा १ अर्ब ३३ करोड २ सय ६८ रूपैयाँ स्रोत सुनिश्चत भएको उल्लेख गरिएको छ । आयोगमा पठाइएको पत्रको बोधार्थ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइएको छ ।

सडक निर्माणका लागि बहुबर्षिय ठेक्का यसअघि नै स्वीकृत भएको थियो । गत साउन ३२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पासाङल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले(रानिपौवा सडकको बहुबर्षिय ठेक्का लागि स्वीकृत दिएका थिए । अब केही दिनमै तिहार बिदा हुने भएकाले सम्भवतः तिहार लगत्तै उक्त सडकका लागि ठेक्का लाग्नेछ ।

विगतमा अर्कै सडक आयोजनाबाट निर्माण गर्न खोजिएको यो सडकखण्ड यस पटक भने सरकारको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ठेक्का लगाउने छ । सडक सात मिटर चौडाइको कालोपत्रे हुनेछ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी विवादित ठेकेदार शारदाप्रसाद अधिकारीसहितको जेभी ठेक्का भएर पनि काम नभएपछि ९ वर्षसम्म सडक भत्काएर अलपत्र पारिएको थियो । भारतको एक्जिम बैंकको ऋण लगानीमा विस्तार हुन लागेको सडकमा ठेक्का कतिपय शर्तका कारण काममा अफ्ठेरो हुँदै आएको सडक आयोजनाका कर्मचारीले बताउने गरेका छन । अहिले उक्त ठेक्का रद्द भैसकेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १७:५०