२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

तिहारका लागि फूल र मालाको मूल्य निर्धारण

चितवन, २१ कात्तिक । फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको रु एक सय र फूलको प्रतिकिलो रु पाँच सय तय गरेको हो । निर्धारित गरिएको मूल्य अनुसार फूल र माला बिक्री भए नभएको अनुगमनका लागि स्थानीय निकाय र प्रशासनलाई अनुरोधसमेत गरिएको सङ्घका अध्यक्ष तेजेन्द्र सापकोटाले बताए । उनका अनुसार जिल्लामा हाल ५० बिघा क्षेत्रफलमा चाडपर्व लक्षित गर्दै फूलखेती गरिएको छ । यसबाट दुई लाख ५० हजारदेखि तीन लाखसम्म माला तयार हुने अनुमान गरिएको छ ।

यहाँको बजारको माग चार लाख माला भएको उनको भनाइ छ । छिमेकी जिल्लाबाटसमेत माला र फूल चितवनको बजारमा आउने गरेको छ । धादिङ, दाङलगायतका जिल्लाबाट पनि फूल र माला यहाँ आउने गरेको उनको भनाइ छ । साथै भारतबाटसमेत फूल र माला आउने भएकाले यसलाई रोक्न पुष्पविकास केन्द्रले आयातको अनुमतिमा रोक लगाएको उनले बताए । सङ्घका सचिव सुलभ श्रेष्ठले गतवर्ष जिल्लामा ३५ बिघा क्षेत्रफलमा फूलखेती गरिएकोमा अहिले ५० बिघा क्षेत्रफलमा खेती गरिएको जानकारी दिए ।

व्यावसायिक रुपमा खेती गर्ने किसान आठजना रहेकोमा चाडपर्व विशेष खेती गर्ने किसानको सङ्ख्या भने जिल्लामा एक सय हाराहारी रहेको उनको भनाइ छ । प्लास्टिकजन्य फूलमालाको गुच्छा बजारमा अत्यधिक मात्रामा आइसकेको भन्दै सङ्घले यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासन समक्ष माग गरिएको उनले जानकारी दिए । चाडपर्व लक्षित गर्दै भरतपुर महानगरपालिका–२३ मा २० बिघामा फूलखेती गरिएको छ । वडा कार्यालयको सक्रियतामा वडाभित्र सो क्षेत्रफलमा फूलखेती गरिएको हो । सो वडाका अध्यक्ष दीपक दवाडीका अनुसार विगतका वर्षमा तरकारी खेती गरिएका ठाउँमासमेत अहिले फूलखेती गरिएको हो ।

कृषिमा युवालाई जोड्ने उद्देश्यका साथ फूलखेतीमा युवा परिचालन गरी समूह बनाइ काम गरिएको उनले बताए । फूलखेती गर्ने किसानलाई मल, बीउ, सिँचाइको व्यवस्था वडा कार्यालयले गरेको उनले जानकारी दिए । उनले भने “कृषिलाई व्यावसायिक बनाउनका लागि हामीले फूलखेतीबाट सुरु गरेका छौँ ।” जगतपुर कृषि फार्म प्रालिले अहिले २५ हजार बिरुवा फूल लगाएको छ ।

यहाँका युवा मिलेर फूलखेती गर्न लागेको प्रालिका कोषाध्यक्ष हरि आचार्यले जानकारी दिए । उनले भने, “अघिल्लो वर्ष नौ कठ्ठामा खेती गरेका थियौंँ । अहिले यसलाई बढाएर ३० कठ्ठा पुर्‍याएका छाैँ ।” संस्थाका शेयर सदस्य पदमप्रसाद चालिसे युवालाई स्वरोजगार बन्ने ठाउँका लागि कृषि कर्ममा लागिएको बताए । विदेशमा भएका युवाको सक्रियतामा यहाँ रहेका युवालाई एकजुट बनाउने काम गरिएको उनले बताए । उनले भने, “घरमै बसेर स्वरोजगार बन्नका लागि कृषि पेसा उत्तम छ । अझै फूलखेती नगदे बाली भएकाले यसको प्रवद्र्धन गर्न जरुरी छ ।”

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १४:०२