२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भूकम्पका घाइतेका लागि रगत सङ्कलन

१८ कात्तिक, जानकी (बाँके) । जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि रगत सङ्कलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा हालसम्म ४३ जनाले रक्तदान गरेका छन् । बिरामीलाई रगतको अभाव हुन नदिनका लागि रगत सङ्कलन गरिएको रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए ।

उनका अनुुसार हालसम्म ४३ जनाले रक्तदान गरेका छन् । घाइते बिरामीलाई आज बिहान ३ बजेदेखि नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार सुरु गरिएको हो । प्रजिअ श्रवणकुमार पोखरेलका अनुसार २६ जनाको उपचार भइरहेको छ भने एकजनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड–१ का ३३ वर्षीय टेकबहादुर पुनको उपचारका लागि अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १३:५०