२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

रुकुम पश्चिमका दुई पालिका बढी प्रभावित

१८ कात्तिक, रुकुम । गए राति जाजारकोट केन्द्रविन्दु बनाइ गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण रुकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । जाजरकोटसँग नजिक रहेका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिका हालसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको आठविसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए । “आठविसकोट नगरपालिकामा १८ र सानीभेरी गाउँपालिकामा ९ गरी २७ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ”, प्रमुख केसीले भने, “मानवीयसँग ठूलो मात्रामा भौतिक क्षति पनि भएको छ ।”

उनका अनुसार भूकम्पले रुकुम पश्चिमका आठविसकोट नगरपालिका वडा नं १४ र सानीभेरी गाउँपालिका वडा नं ४ मा धेरै क्षति पु¥याएको छ । भूकम्पमा परी घाइतेहरुको उद्धार तथा उपचारको काम भइरहेको छ भने मानवीय र भौतिक क्षतिको विवरण पनि सङ्कलन भइरहेको छ । भूकम्प राति गएका कारण सडक अवरुद्ध हुँदा घाइतेलाई अस्पताल पु¥याउन निकै समस्या भएको आठविसकोट नगरपालिका वडा नं १४ का वडा अध्यक्ष हुकम पुनले बताए । “हाम्रो वडामा धेर क्षति भएको छ । रातिदेखिनै उद्धार जारी राखेका छौँ ।

केहीको मृत्यु भएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल पनि पठाएका छौँ”, उनले भने, “रातिमा सबै सुतिरहेको अवस्थामा भूकम्प आएका कारण मानवीय क्षति बढी भएको हो ।” उनका अनुसार आठविसकोट नगरपालिकामा १८ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । हाल थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक धर्मेन्द्र खड्काले बताए । उनकाअनुसार सानीभेरी गाउँपालिकामा हालसम्म नौ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल सल्ले, चौरजहारी मिसन अस्पताल र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । भूकम्पका कारण अवरुद्ध सडक पनि खुलेको र उद्धारमा सहज बनाइएको प्रहरीको भनाइ छ । उनका अनुसार जिल्ला अस्पताल सल्लेबाट हाल १० जनालाई नेपालगञ्ज रिफर गरिएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको विमानमार्फत नेपालगञ्ज पठाइएको हो । साथै आठविसकोट नगर अस्पतालमा उपचाररत तीन जना घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको छ । हाल जिल्ला अस्पताल सल्लेखमा जाजगरकोटबाट पनि घाइते ल्याउने क्रम जारी छ ।

जिल्लाको चौरजहारी र मुसीकोट नगरपालिका, त्रिवेणी र बाफिकोट गाउँपालिकाका केही घरमा क्षती भए पुगेको छ । सानीभेरी गाउँपालिका वडा नं ४ का डिल्ली परियारले भूकम्पका कारण घरहरु भत्केका र चिरा परेको कारण मनमा डर कायमै रहेको बताए । “म सुत्ने तरखरमा थिए । एक्कासी घर हल्लिएपछि बाहिर निस्के । घरका भित्ताहरु भत्किसकेका थिए । मेरो बुवालाई चोट लाग्यो र बुबालाई तत्काल सानीभेरी गाउँपालिका अस्पताल छोटेबगर पु¥याएँ । हामी कसरी बाँचियो थाहै छैन”, उनले भने ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १२:४५