२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

घाइतेहरुको नेपालगञ्जमा उपचार सुरु

१८ कात्तिक, नेपालगञ्ज । गए राति गएको भूकम्पका कारण घाइते भएकाहरुको बाँकेको नेपालगञ्जमा उपचार थालिएको छ । उपचारका लागि दुई घाइतेलाई भेरी अस्पताल, नेपालगञ्जमा भर्ना गरिएको छ । भेरी अस्पतालमा फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भूकम्पमा परी घाइते भएका जाजरकोटको भेरी नगरपालिका–३ का ४८ वर्षीय विमलबहादुर कार्की र भेरी–३ की २२ वर्षीया इसा शाहीको उपचार भइरहेको छ ।

कार्कीको दाहिने खुट्टा भाँचिएको छ भने शाहीको टाउकोमा चोट लागेको छ । दुवैको अवस्था सामान्य भएको उनले बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच श्यया घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ ।

हेलिकप्टरमा उद्धार गरिने घाइतेका लागि राझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । भूकम्पबाट घाइते भएका अन्यलाई उपचारका लागि यहाँ ल्याउने क्रम जारी छ । गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा अत्यधिक धनजनको क्षति भएको छ । 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ११:३९