२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रधानमन्त्री दाहाल जाजरकोटमा

१८ कात्तिक, जाजरकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमा आइपुगेका छन् । भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री दाहाल आज विहान साढे आठ बजे स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित यहाँ आएका हुन् । जाजरकोट पुगेका प्रधानमन्त्री दाहालले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग भूकम्पको क्षतिको जानकारी लिएका छन् । सुरुमा जाजरकोटको खलङ्गाको प्रभावित क्षेत्रको वस्तुस्थिति बुझिसकेपछि प्रधानमन्त्री दाहाल प्रजिअ सुनारसहित सबैभन्दा बढी क्षति भएको नलगाड नगरपालिकामा पुगेका जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रको राहत तथा उद्धारलाई तीव्र बनाउन तथा यसका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । क्षतिको पूर्ण विवरण नआइसकेकोले प्रारम्भिक क्षतिको विवरणबारे प्रजिअले प्रधानमन्त्री दाहाललाई जानकारी गराएका सूचना अधिकारी शर्माले जानकारी दिए । प्रधानमन्त्री दाहालले जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्था बुझ्नका साथै पीडितका आफन्तसँग कुराकानी गरेका छन् । उनका साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र पूर्वगृहमन्त्री जनार्दन शर्मासहित यहाँ आइपुगेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ११:०३