१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कोशीमा मन्त्रीमण्डल विस्तारः माओवादीका उप्रेती र समाजवादीका जवेगुले लिए शपथ

१७ कात्तिक, काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । उनले आज माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरूलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले आजै शपथग्रहणसमेत गराएका छन् ।

एमालेको समर्थनमा केदार कार्की कांग्रेसका विद्रोह गरेका आफूसहित ८ सांसदको सहयोगमा संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री भएका थिए । तर उनलाई सत्ता गठबन्धनमा आबद्ध दलहरूले पनि विश्वासको मत दिए ।

आफ्नै पार्टी कांग्रेसले कार्कीलाई गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादीका एक–एक जनालाई मन्त्री नियुक्त गर्न निर्देशन दिएपछि आज नै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनमा आवद्ध दुई दलबाट मन्त्री थपेसँगै एमालेले सरकार छाड्ने चेतावनी दिएको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले सहमति बेगर नै मुख्यमन्त्रीले सरकार विस्तार गरेको भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १९:२२