८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनाेट

१७ कात्तिक, काठमाडाैं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।

युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले नटआउट ६३ रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे। रोहित पौडेलले २० बलमा ३५ रन बनाए। दुईबीच नटआउट ६८ रनको साझेदारी हुँदा नेपालले सहज जित निकाल्न सफल भएको हो।

११ रन बनाएर ओपनर कुशल भुर्तेल आउट भए। उनले आउट हुनुअघि २ चौका हिर्काए। गुल्सन झा दशौं ओभरमा २२ रनमा बोल्ड भए। उनले आउट हुनुअघि २४ बलमा ३ चौका प्रहार गरे। टस जितेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन जोड्यो।

युएईका लागि वृत्य अरिवन्दले अर्धशतक प्रहार गरे। अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लबाट क्याचआउट हुनुअघि उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए।

आक्रामक सुरुवात गरेको युएईविरुद्ध नेपालले चौथो औभरमा दुई विकेट लिएको थियो। चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका ओपनिङ ब्याटर खालिद शाहलाई ३ रनमा रनआउट गरेका छन्। सोमपालले सोही ओभरको चौथो बलमा मोहमद वासीमलाई २६ रनमा करण केसीबाट आउट गरे। वासीमले १६ बलमा ३ चौका र २ छक्का हिर्काए।

नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले दशौं ओभरको आसिफ खानलाई १३ रनमा एलबिडब्लूको धरापमा परे। नेपालका लागि कुशल मल्लले १४औं ओभरमा चौथो विकेट लिए। उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरे।

नेपालका लागि कप्तान रोहित पौडेलले पाँचौ विकेट लिए। उनले युएईका अली नासीरलाई ४ रनमा कुशल भुर्तेलबाट क्याच गराए। त्यतिबेला युएईले १५.५ ओभरमा ५ विकेटको क्षतिमा १०० रन जोडेको थियो।

सन्दीपले १८औं ओभरमा मेडन विकेट लिएका थिए। उनले सो ओभरमा बासील हमीदलाई १ रनमा आउट गरेपछि पाँचब लमा कुनै रन दिएनन्।बलिङमा नेपालका कुशल मल्लले ३ विकेट लिए। उनले अन्तिम ओभरमा २ विकेट लिएका थिए। कुशलले ३ ओभरमा ११ रन खर्चिए। सन्दीप लामिछानेले २ विकेट लिए। सन्दीपले ४ ओभरमा १ मेडन राख्दा १४ रन मात्र खर्चिए। सन्दीपले १४ बल डट फ्याँकेका थिए।

नेपालले अब विश्वकप छनोट एसिया छनोट फाइनलको उपाधिका लागि ओमानसँग खेल्नेछ। आजै भएको अर्को सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको हो।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १५:००