२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भ्रमण वर्ष सफल बनाउन पत्रकारसँग छलफल

१५ कात्तिक, चितवन । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पत्रकारहरुसँग छलफल गरेको छ । महानगर कार्यालयमा आज आयोजित छलफलमा महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको तयारी अघि बढेको जानकारी दिए । उनकै संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूलसमिति बन्दै गरेको सो अवसरमा जानकारी गराईएको थियो । यस्तै उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा कार्यसम्पादन समिति र २८ वटा उपसमिति निर्माण गरेर काम अघि बढाईएको उनले बताए । भ्रमण वर्षमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि बाघ देखाउने गरी तयारी भइरहेको छ ।

यसैगरी दियालो बङ्गला क्षेत्र पर्यटकको लागि खुला गर्न पहल भइरहेको उनले बताए । उपप्रमुख अधिकारीले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा प्रचार गरी भ्रमण वर्षलाई सफल बनाउन सहयोग गर्न पत्रकारलाई आग्रह गरे । उनले हालसम्म तयारीका काम धेरै अघि बढेको भन्दै आर्थिकरुपमा अप्ठ्यारो अवस्थामा पनि अर्थतन्त्र चलायमान गराउने गरी कार्यक्रम गर्न लागिएको बताए । प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र पर्यटन विज्ञ डा विश्व सुवेदीले हालसम्मका तयारीका बारेमा जानकारी गराए । भ्रमण वर्षका लागि महानगरपालिकाले रु तीन करोड ७० लाख बजेट विनियोजन गरेको छ ।

सो कार्यका लागि प्रदेश सरकारले र सङ्घीय सरकारसँग थप बजेट पनि माग गरेको सो अवसरमा जानकारी गराईयो । महानगरपालिकाको एकातर्फको भूभाग चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । महानगरबाट दुई नाकामार्फत् निकुञ्ज प्रवेश गर्न सकिन्छ । यसका अतिरिक्त सूर्याेदय अवलोकनका लागि चौकीडाँडा र सूर्यास्तका लागि गोलाघाट यही महानगरमा पर्दछ । महानगरले २९ वटा पर्यटकीय गन्तव्य पहिचान गरेको छ । तीमध्ये सात वटा मुख्य पर्यटकीय गन्तव्य हुन् ।कार्यक्रमा पत्रकारहरुसँग भ्रमण वर्ष सम्पन्न गर्न आवश्यक सुझाव लिइएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १६:५१