२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पर्यटन मार्गले बदल्यो उत्तरी गोरखाको स्याला गाउँ

१५ कात्तिक, गोरखा । गोरखाको उत्तरी भागमा रहेको चुमनुर्बी गाउँपालिका–२ मा पर्छ स्याला गाउँ । पर्यटन मार्ग सञ्चालन भएपछि स्याला गाउँ बदलिएको छ । आजभन्दा १२ वर्षअगाडि स्याला गाउँमा तीते फापर र कोदो फलाउने स्थानीयहरूले हाल होटल व्यवसाय सञ्चालन गरेर आर्थिक आयआर्जन गरिरहेका छन् । हाल उत्तरी गोरखाको लार्केपास पुग्न गोरखाको माछिखोलाबाट पैदलयात्रा गर्नुपर्ने हुन्छ । विस्तारै हिँड्ने हो भने चार दिनपछि स्यालागाउँ पुगिन्छ । स्याँलागाउँबाट चारैतिर हिमाल देखिने भएकाले आन्तरिक तथा बाह्य पर्यटक एक रात स्यालागाउँमा बास बसेर सामागाउँ पुग्छन् ।

स्थानीयवासीका अनुसार, धेरै वर्ष पहिले स्यालागाउँमा चौँरी चराउन र आलु उत्पादन गर्नलाई वर्षातको समयमा बस्ने गरिन्थ्यो । बाँकी हिउँदको समयमा स्थानीयवासी ल्हो गाउँमा बसोबास गर्ने गर्थे । जब २०६८ सालमा पर्यटन मार्ग सुञ्चालन भयो त्यसपछि स्यालागाउँका स्थानीयवासीले क्याम्पिङ गर्ने पर्यटकलाई चिया पसल सञ्चालन गरेर सेवा दिएका थिए । बिस्तारै बाह्य पर्यटकहरुको आगमनमा वृद्धि हुन थालेसँगै स्यालागाउँका स्थानीयले होटल व्यवसाय सञ्चालन गरे । अहिले काठले छाएका पुराना घरहरुसँगै टिनले छाएका नयाँ आकर्षक घरहरू बनेका छन् । सुविधायुक्त होटलहरु सञ्चालनमा आएका छन् । ठूलै लगानी गरेर होटल सञ्चालन गरेका होटल व्यवसायीका पीडा भने आफ्नै छ । पर्यटन मार्ग सुरु भएर पर्यटकको आवागमनमा वृद्धि हुने बित्तिकै २०७२ सालको भूकम्पले पर्यटन व्यवसयलाई धरापमा पारिदियो ।

मोटो रकम लगानी गरेर होटल सञ्चालन गरेर घाटामा जानु परेको होटल व्यवसायीको दुःखेसो छ । भूकम्प र लकडाउनका कारण पर्यटन व्यवसाय खस्केको चुमनुर्वी गाउँपालिका–२ का निवर्तमान वडाअध्यक्ष पेम्बा रेता बताउ छन् । उनले भने, “व्यवसाय सञ्चालन गरेको बेला भूकम्पले ठप्प बनायो । भूकम्पपछि उठेको पर्यटन व्यवसाय फेरि पनि लकडाउनले ठप्प बनायो । अहिले बिस्तारै फेरि पर्यटन व्यवसायमाथि उठ्दैछ ।” पर्यटन व्यवसायले स्याला गाउँको मात्र आर्थिक आयआर्जनलाई फाइदा नगरेर देशको आर्थिक वृद्धि हुने हुँदा राज्यले पर्यटन व्यवसायलाई ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ । बाह्य पर्यटकहरूलाई सरकारले धेरै कर लगाउने र एउटै मार्गमा पनि ठाउँठाउँमा शुल्क तिराउने भएकाले बाह्य पर्यटक घट्न सक्ने चुमनुर्बी–२ का वडा निवर्तमान अध्यक्ष पेम्बा रेताको भनाइ छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १५:३५