८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

हाम्रो विद्यालयमा भर्ना हुन नपाएमात्र विद्यार्थी निजीमा जान्छनः बाबुराम लामिछाने

-प्रतिमा मुडभरी

१२ कार्तिक, काठमाडौँ । सामुदायिक विद्यालय भन्नेबित्तिकै हाम्रो मष्तिस्कमा गरिबका छोराछोरीले पढ्ने विद्यालय वा राजनीतिले तहसनहस पारिरहेको विद्यालयको चित्र घुमिहाल्छ । तर समयसँगै रूपान्तरित भएर धेरै सामुदायिक विद्यालयले आफूलाई उत्कृष्ट बनाउँदै लगेका छन । त्यस्ता विद्यालयहरूले नतिजाबाटै समग्र सामूदायिक विद्यालयमाथि लागिरहेको नकारात्मक आक्षेपको खण्डन समेत गरिरहेका छन ।

सामूदायिक विद्यालयमाथि लाग्ने आम आक्षेपको नतिजाबाटै खण्डन गरिरहेका थोरै सामूदायिक विद्यालयको अग्रपंक्तिमा पर्छ नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको पृथ्वी माध्यामिक विद्यालय । देशको राजधानी रहेको बागमती प्रदेशको उत्कृष्ट दोस्रो सामूदायिक विद्यालय रहेको पृथ्वी गत एसइइको नतिताका आधारमा प्रदेशभरीका विद्यालय मध्ये उत्कृष्ट दोस्रो बनेको हो ।

सामूदायिक विद्यालयहरू शिक्षक र व्यवस्थापन समिति र राजनीतिक दलहरूको चरम द्धन्द्धले समस्याग्रस्त हुनेक्रम बढी रहेकै समयमा पृथ्वी माविले भने यी सबै विवाद र निराशा चिर्दै आफूलाई नमुना बनाउने काम गरिरहेको छ । जसको नेतृत्व प्रधानाध्यापक बाबुराम लामिछानेले गरिरहेका छन । लामिछानेले नेतृत्व गरिरहेको पृथ्वी मावि प्रदेशमा दोस्रो भए पनि काठमाडौँ उपत्यकालाई बाहिर राख्दा पहिलो हुन्छ ।

एसइइको औसत नतिजामा तीन दशमलब तीन चार सात जिपए प्राप्त गर्दै पृथ्वी प्रदेशकै उत्कृष्ट विद्यालय घोषित भएको हो । विद्यालय प्रदेशभरीमै उत्कृष्ट हुँदा थप उत्साहित भएका प्रधानाध्यापक लामिछाने राजनीतिलाई बाहिर राखेर विद्यालयको समग्र विकास गर्न नसकिने बताउँछन । राजनीतिले नै सामूदायिक विद्यालय बिग्रियो भन्ने तर्क बलियो बन्दै गैरहेको परिप्रेक्ष्यमा बाबुराम भने विद्यालयमा राजनीति हुनुपर्ने र त्यसको लाभ विद्यालयले लिनुपर्ने बताउँछन ।

लामिछानेले राजनीतिलाई सकारात्मक स्थान दिए त्यसले पनि सकारात्मक रूपमै सहयोग गर्ने बताए । प्रधानाध्यापक लामिछाने विद्यालयको उपलब्धिलाई सिङ्गो नुवाकोटले आफ्नो पुँजी मानेर गर्व गनुपर्ने बताउँछन । सामान्य कुराहरूमा ध्यान दिएर काम गर्ने हो भने विद्यालयहरू नमुना बन्न सक्ने बाबुरामको भनाइ छ । उनले शिक्षकहरू खुशी र उत्साहित भएर कक्षामा प्रस्तुत हुँदा विद्यार्थी मार्फत राम्रो नतिजा दिन सक्ने बताउँछन । कक्षा कोठामा विद्यार्थी र शिक्षकले गरेको मिहेनत नै विद्यालय उत्कृष्ट हुनुको कारण रहेको भन्दै आफूहरू सिकाइ उपब्लधिमा केन्द्रीत रहेको उनको भनाइ छ ।

दैनिकीसँग कुरा गर्दै लामिछानेले भने, ‘म राजनीतिलाई सम्मान गर्छु राजनीति समाजको पुँजी हो त्यो पुँजीलाई उपयोग गर्न जान्नुपर्छ । समाजका गतिशिल मान्छे विभिन्न दलमा आवद्ध भएका हुन्छन उनीहरूलाई निरपक्ष बस भनेर भन्न सकिदैन भने पनि मान्दैनन् । त्यसकारण राजनीतिक पुँजीलाई विद्यालयको हितमा प्रयोग गर्नुपर्छ ।’ बाबुरामले अघि भने, ‘राजनीति गतिशिल हुन्छ । त्यसलाई हितमा प्रयोग गरिएन भने अहितमा प्रयोग हुनसक्छ । हाम्रो विद्यालयमा राजनीति गर्न आउनेहरूले चाहिँ विद्यालयको हितमा काम गर्नुहुन्छ ।’

विद्यालयभित्र राजनीति हुनुहुँदैन भन्ने कुराको विपक्षमा रहेको बताउने लामिछानेले नेता र जनप्रतिनिधिले समुदायको प्रतिनिधित्व गर्ने बताए । उनले राजनीति गर्नेहरूलाई घृणा गरेर र पूर्वाग्रह राखेर त काम गर्न नै नसकिने बताए । दैनिकीसँग बाबुरामले भने, ‘ हाम्रोमा आउनेहरूले विद्यालयको  स्वार्थलाई केन्द्रमा राखेर काम गरिदिनुहुन्छ । हामीले पनि उहाँहरूका लागि त्यस्तै वातावरण बनाइदिएका छौँ ।’

बाबुरामले विद्यालयको सफलतामा प्रधानाध्यापकको हैसियतमा आफू पनि खुशी नै रहेको बताए । सामूदायिक विद्यालयको तुलनामा निजी विद्यालयको गुणस्तर माथि छ भन्ने आम मान्यता भए पनि नुवाकोटको विदुरमा त्यसको ठीक उल्टो छ ।  पृथ्वी माविमा पढ्न नपाएमात्र विद्यार्थीहरू निजी विद्यालयमा जाने गरेका छन । गत शैक्षिकसत्रमा त विद्यालयमा विद्यार्थी र अभिभावको भीड थेग्न हम्मेहम्मे परेको थियो ।

स्रोत साधानको सीमिततामा काम गर्नुपरेको र सबै अभिभावको चाहना पूरा गर्न नपाउँदा  कतिपय अवस्थामा दुःख लागेको बाबुराम बताउँछन । सुधार वा प्रगति रातारात वा एकै रातमा हुने कुरा नभए पनि पृथ्वी माविले थोरै समयमा राम्रो विश्वास आर्जन गरेको छ । विद्यालयले प्राप्त गरेको विश्वासको हिस्सेदार विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवाला निकाय सबै रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १३:१७